जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष र उपाध्यक्ष नेपाल आउँदै

जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष र उपाध्यक्ष नेपाल आउँदै

काठमाडौंः जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष आर्गेनिस एंगुलो र उपाध्यक्ष राखी जैन नेपाल आउने भएका छन्। भेनेजुएलाका नागरिक अध्यक्ष एंगुलो आज आउनेछन् भने भारतीय नागरिक उपाध्यक्ष जैन शुक्रबार आउनेछन्।

नेपाल जेसीजका अध्यक्ष लालमणि भण्डारीका अनुसार अन्तर्राष्ट्रिय अध्यक्षको सात वर्षपछि नेपाल भ्रमण हुन लागेको हो। एंगुलो चैत २७ गतेसम्म नेपालमा रहनेछन्। 

यसबीच उनी नेपाल जेसीजको वार्षिक कार्यक्रमअन्तर्गतको ‘नेस्नल काउन्सिलरर्स एकेडेमी’लगायतका जेसीजका कार्यक्रममा सहभागी हुनेछन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवा, उद्यमी विनोद चौधरी, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नेपालस्थित राष्ट्रसङ्घीय प्रतिनिधिलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

१८ देखि ४० वर्षसम्मका युवाको अन्तर्राष्ट्रिय सामाजिक संस्था जेसीजको स्थापना नेपालमा विसं २०२१ असोज २ गते भएको हो। अन्तर्राष्ट्रिय जेसीजको स्थापनाको ४९ वर्षपछि डा. भेषबहादुर थापाको नेतृत्वमा नेपाल जेसीजको कार्यसमिति गठन गरिएको थियो।

नेपालमा अहिले जेसीजका १७२ शाखा छन् भने विश्वका १२० भन्दा बढी देशमा राष्ट्रिय कार्यसमिति रहेको छ। जेसीजको सबै कार्यसमितिको हरेक वर्ष नयाँ नेतृत्त्व चयन गरिन्छ भने एक व्यक्ति, एक पद, एक कार्यकाल मात्रै निर्वाचित हुन पाइने व्यवस्था रहेको छ।

चैत २४, २०७८ बिहीबार १०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।