पाल्पाका सबै स्थानीय तहमा पाँच दलबीच तालमेल हुने

पाल्पाका सबै स्थानीय तहमा पाँच दलबीच तालमेल हुने

पाल्पाः वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन हुने भएको छ। बुधबार बसेको संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो।

अब कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल हुने भएको छ।

चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेस सभापति हिमालदत्त श्रेष्ठको सञ्योजकत्वमा संयन्त्र निर्माण गरिएको छ। सदस्यमा माओवादी केन्द्रका सञ्योजक नेत्रप्रसाद पाण्डे, एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र जसपाका मेयरमान राना रहेका छन्।

संयन्त्रले गठबन्धन दलबीच आवश्यक छलफल, परामर्श गरी स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाउनेछ। गठबन्धनमा सहभागी दलबाट तीन/तीन जना सहभागी हुने गरी एक कार्यदल गठन गर्ने निर्णय भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष पाण्डेले बताए।

स्थानीय तह र वडाबाट सङ्कलन भएका प्रतिवेदनका आधारमा जिल्लास्तरीय संयन्त्रको बैठकबाट उम्मेदवार चयन हुने राष्ट्रिय जनमोर्चाका अध्यक्ष दर्लामीले बताए। कार्यदलको बैठक पुनः यही चैत २५ गते बसेर उम्मेदवार तय गर्ने संयन्त्रले जनाएको छ।

चैत २४, २०७८ बिहीबार ०९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।