बीबीसी मास्टर सेफको टोली आज नेपाल आउँदै, १० दिनसम्म प्रचारात्मक गतिविधिमा संलग्न हुने

बीबीसी मास्टर सेफको टोली आज नेपाल आउँदै, १० दिनसम्म प्रचारात्मक गतिविधिमा संलग्न हुने

काठमाडौंः नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धनका लागि ‘बीबीसी मास्टर सेफ’को टोली आज नेपाल आउँदै छ। प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत ‘बीबीसी मास्टर सेफः द प्रोफेशनल २०२०’ का फइनालिस्टहरूलाई नेपाल ल्याएको हो।

आज मध्याह्नमा नेपाल आइपुग्ने सेफ सन्तोष साहसहितको टोलीलाई मौलिक खाना संस्कृति र गन्तव्य प्रवर्द्धनमा सहभागी गराइने पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सीईओ सुरेशसिंह बुडालले बताए।

पाटाका सीईओसहित पदाधिकारी, पर्यटन सम्बद्ध क्षेत्रका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि, सेफ एशोसिएशन र हस्पिटालिटीका विद्यार्थीले विमानस्थलमा टोलीलाई स्वागत गर्ने कार्यक्रम छ। नेपालको संस्कृति झल्कने पहिरनमा पञ्चेबाजासहित सेफ टोलीलाई स्वागत गरिने जनाइएको छ।

सेफ साहको साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल आउँदैछन्।

पाटा नेपालका अनुसार मास्टर सेफ टोली नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ। टोली ८ तारिखमा पोखरा जानेछ भने ९ तारिखमा काठमाडौं फर्केर १० तारिखमा जनकपुर जाने र त्यहाँ आयोजना हुने ‘मिथिला खाना तथा रेसिपी’ विषयक कार्यक्रममा सहभागी हुनेछ।

उक्त टोली ११ तारिखका दिन काठमाडौंमा आयोजना हुने पाटा नेपाल च्याप्टरको ४५औं वार्षिक साधारण सभाको औपचारिक समारोहमा सहभागी हुनेछन्।

त्यसैगरी १२ तारिखमा काठमाडौंमा ‘फाइनडाइनिङ’ कार्यक्रममा सहभागी भई १३ तारिखमा लुक्ला जाने र सगरमाथा आधार शिविर कालापत्थर भ्रमणको कार्यक्रम छ। उक्त टोली लुक्लाबाट फर्केपछि १५ तारिखमा बर्दिया जानेछ। बर्दियामा थारु संस्कृति तथा खानासम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमसहित मास्टरसेफद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हंटिङ कार्यक्रम आयोजना गरिनेछ।

१७ तारिखकमा सेफ एशोसिएशनको कुकिङ प्रतियोगितामा सहभागी भएर टोली फर्किनेछ।

चैत २४, २०७८ बिहीबार ०९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।