पछाडिबाट बियरको बोतलले हानेर मारिएकी थिइन् १६ बर्षिया कविता

काठमाडौँ : विद्यालयमा होच्याएको रिसमा उनकै साथीले दाइ प्रयोग गरेर उदयपुर बेलका नगरपालिका–३ बुद्ध चोककी १६ बर्सिया बालिका कविता सुनुवारको हत्या गरेको प्रहरीले दाबी गरेको छ।
बुधवार हत्या आरोपी किराँत चोककी १७ बर्सिया किशोरी र उनको ठुलो बुबाका छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई सार्वजनिक गर्दै प्रहरीले व्यक्तिगत रिसइबीका कारण ट्युसन पढ्न बोलाएर बियरको बोतलले टाउकोमा हानेर हत्या गरेको दाबी गरेको छ।
प्रहरीका अनुसार सुनुवार र अर्की किशोरी एकै विद्यालयको कक्षा १० मा पढ्थे। दुवै विद्यालयमा मिल्थे पनि। तर घटनाको दिन बिहानै ती किशोरीले कवितालाई एसएमएस गरेर बोलाएर डंगटोलस्थित बाँसघारीमा हत्या गरेको प्रहरीले बुधवार सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरणमा उल्लेख छ।
प्रहरीका अनुसार ती किशोरीले कवितालाई मार्ने योजना बनाएर दाइलाई सँगै लिएर आएकी थिइन्। कविता बाँसघारी नजिक पुगेपछि विनोदले पहिल्यै लुकाएर ल्याएको बियरको बोतलले कविताको टाउकोमा हानेर ढालेका थिए। ढलेपछि दुवै जनाले कवितालाई घिसार्दै यशोदा खोला किनारामा पुर्याएका थिए। प्रहरीका अनुसार उनीहरूले त्यहाँ पनि कवितालाई पुन ढुङ्गाले हानेका थिए।
प्रहरीका अनुसार ती किशोरीले कविताको हत्या योजना २ हप्ता अगाडि नै बनाएकी थिइन्। तर छाला सम्बन्धी समस्याका कारण उनी ट्युसन गएकी थिइनन्। उनी ट्युसन नआएपछि उनी आफैँले एसएमएस गरेर बोलाएकी थिइन्। हत्या भएको दिन बिहान ४ बजेर ५ मिनेटमा ती किशोरीले कवितालाई एसएमएस गरेको फेला परेपछि नै उनी शंकामा परेकी हुन्।
प्रहरीले ती किशोरी र उनको ठुलो बुवाका छोरा विनोदलाई नियन्त्रणमा लिँदा उनीहरूको शरीरमा चोट देखेपछि पक्राउ गरेको थियो। विनोदको घर भारतको सिक्किम भए पनि उनी एक वर्षदेखि यतै बस्दै आएको खुलेको छ।
चैत २३, २०७८ बुधबार २१:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।