सहपाठीबाटै कविताको हत्या, दुई आरोपित सार्वजनिक

सहपाठीबाटै कविताको हत्या, दुई आरोपित सार्वजनिक

काठमाडौँ : उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया बालिका कविता सुनुवारको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ। घरबाट बिहान ४ बजे ट्युसन पढ्न हिँडेकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतककी सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल (खत्री) उनका ठूलो बुबाका छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

कोसी जनता माद्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत सुनुवारको एउटै कक्षामा पढ्ने मिलनसार साथीको योजनामा बेलका नगरपालिका–३ डंगटोलस्थित बाँसघारीमा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

बाँसघारीमा विनोदले लुकाएर ल्याएको बियरको बोतलले कवितालाई पछाडिबाट हिर्काएर ढालेको बयान दिएका छन्। ढलिसकेपछि दुवै जनाले कवितालाई ४० मिटर पर दक्षिणतर्फ घिसार्दै लगेर यशोदा खोला किनारामा पुनः ढुंगाले हिर्काएर मरेपछि लुकाएको प्रहरीले जनाएको छ।

सरिताले दुई हप्ताअघि नै कवितालाई मार्ने योजना बनाएको प्रहरी समक्ष बयान दिएकी छन्। हत्या भएको दिन बिहान ४ बजेर ५ मिनेटमा सरिताले कवितालाई एसएमएस गरेर विद्यालयमा ट्युसनका लागि बोलाएकी थिइन्। तर, उनी विद्यालय नपुग्दै बाटोमा हत्या गरिएको थियो।

सरिताका ठुलो बुवाका छोरा विनोद एक वर्षदेखि उनकै घरमा बस्दै आएका थिए। विनोदको घर भने भारतको सिक्किम हो। कविताले स्कुलमा आफूलाई होच्याउने गरेकाले मार्ने योजना बनाएको सरिताले बताएकी छन्।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका निरीक्षकको कमाण्डमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो। मृतक किशोरीको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। घटना स्थलदेखि विद्यालय करिब सात सय मिटर र घर करिब दुई किलोमिटर पर रहेको स्थानीयले बताएका छन्।

 

चैत २३, २०७८ बुधबार २०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।