अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्छु : मन्त्री रेग्मी
काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
नेपाल अपाङ्ग पुनर्स्थापना केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले अपाङ्गता भएका समुदायको हकहितको लागि रोकिएर बसेका अपाङ्गता सम्बन्धी कार्यबिधी यथाशीघ्र परिमार्जित गरेर कार्यान्वयन गराउन पहल भइरहेको बताइन्।
मन्त्री रेग्मीले अहिले रातो कार्ड भएकाले मात्रै भत्ता पाउने व्यवस्था भएकोले त्यसलाई परिमार्जन गरेर निलो वा अरू कार्ड भएकालाई पनि भत्ता दिलाउने प्रयासमा आफू रहेको बताइन्।
अपाङ्गता भएका विभिन्न व्यक्तिहरूलाई सामग्रीहरू वितरण गर्दै मन्त्री रेग्मीले भनिन्, 'एउटा हात नभएको व्यक्तिले कसरी गरी खाने ? अपाङ्गताको श्रेणीमा मात्र राखेर भएन गरेर खाने व्यवस्था पनि त हुनुपर्याे।'
अपाङ्ग भएका समुदायको हकहितको लागि आफू सधैँ अग्र पङ्क्तिमा रहेको बताउँदै मन्त्री रेग्मीले आगामी बजेटमा अपाङ्गता क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको समेत बताइन्। 'राज्यको श्रोत साधनले नभ्याएर पनि होला तर अपाङ्गता भएका समुदायलाई गाँस काटेर भएपनि प्राथमिकता दिनु पर्छ' उनले भनिन्, 'आफ्नो अधिकारको लागि सबैले सशक्त रूपमा आवाज उठाउन जरुरी छ।'
नेपाल अपाङ्ग पुनर्स्थापना केन्द्रले अपाङ्गता भएका विभिन्न व्यक्तिहरूलाई व्हिल चेयर, कमोड चेयर, हटब्याग ,सेनिटरि प्याड, बैसाखी लगायतका सामग्रीहरू वितरण गरेको हो।
चैत २३, २०७८ बुधबार १६:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।