रवीन्द्र मिश्रलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता
काठमाडौँ : विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा दर्ता भएको छ। मिश्रलाई कारबाही गरेको पत्र पार्टीका बहुमत सदस्यहरुले निर्वाचन आयोगमा बुझाएका हुन्।
गत मंगसिर २४ गते विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण गरेर विवेकशील साझा पार्टी बनेको थियो। पार्टी अध्यक्ष रवीन्द्र मिश्र थिए भने संयोजक मिलन पाण्डे थिए। अध्यक्ष र संयोजक मिलेर पार्टी संचालन गर्ने भनेर एकीकरण भएको थियो। गत साउन ११ गते रवीन्द्र मिश्रले विचारभन्दा माथि देश भनेर दस्ताबेज ल्याए। उक्त दस्ताबेजमा मिलन पाण्डे, रन्जु दर्शना, केशव दाहाल, रमेश पौड्याल लगायत नेताहरुले विरोध गरे।
तर रवीन्द्र मिश्र भने बहुमतको आधरमा पाण्डे पक्षलाई पेल्दै अघि बढे। मिलन पाण्डे र रन्जु दर्शनालाई कारवाही गरियो। पाण्डे पक्षका करिव २ दर्जन नेताहरुले राजिनामा दिए।
अहिले रवीन्द्र मिश्र पक्षकै मार्ग परिवर्तन भन्ने दस्ताबेज मान्ने नेताहरुबीच पनि विवाद भएको छ। यो विवादले मिलन पाण्डे पक्ष सहि थियो र दस्ताबेजले ल्याएको तरंग क्षणिक थियो भन्ने देखिएको छ।
अहिले भिम आचार्यको नेतृत्वमा एउटा पक्ष निर्वाचन आयोग पुगेको छ। ६८ जनाको हस्ताक्षर सहित उक्त पक्षले निर्वाचन आयोगमा रवीन्द्र मिश्रलाई अध्यक्षबाट हटाएको पत्र दर्ता गराएको छ।
अहिले ६८ जना रवीन्द्र मिश्रको पक्षमा, त्यस्तै ६८ जना उनको विरोधमा र यो दस्ताबेज आएबेला देखिनै विद्रोह गर्दै आएको पाण्डे समुहमा करिव २५ जना नेताहरु छन्। पाण्डे समुहमा धेरैले राजिनामा दिएर पार्टी परित्याग गरिसकेका छन्। अहिले निर्वाचन आयोगमा १६३ जना केन्द्रीय सदस्य अध्यावधिक छन् भने अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेनै कायम छन्।
अब मिलन पाण्डे पक्ष जहाँ उभिन्छ पार्टी आधिकारिक रुपमा त्यहि रहन्छ। पार्टीमा विचार पनि मिलन पाण्डे समुहकै स्वीकार हुँदै गएको र आधिकारिकताका निम्ति पनि मिलन पाण्डे समुहनै निर्णायक हुने देखिएको छ।
चैत २३, २०७८ बुधबार १५:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।