शान्ति मिसनमा कंगो खटिएका नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु

काठमाडौं- विद्रोहीको हमलामा परी शान्ति मिसनमा कंगो खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ।
अपरेसन 'बाली' का क्रममा मंगलबार विद्रोहीले अज्ञात स्थानबाट अचानक गोली चलाउँदा सुर्खेत, गुर्भाकोट-१४ निवासी सिपाही अनिल गुरुङको मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ।
विद्रोहीको फायरबाट घाइते भएका नेपाली सैनिकको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई हेलिकोप्टरमार्फत उपचारको लागि बुनियाँस्थित लेबल-२ अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जंगी अड्डाले जनाएको छ।
कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण भएकोमा गुरुङप्रति प्रधानसेनापति प्रभुराम शर्माले उनको बलिदानीपूर्ण योगदानप्रति उच्च सम्मान प्रकट गरेको नेपाली सेनाले जनाएको छ।
चैत २३, २०७८ बुधबार १०:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।