श्रीलंका संकट : साना दलका ४० सांसदले गरे राष्ट्रपतिको गठबन्धन छोड्ने घोषणा

श्रीलंका संकट : साना दलका ४० सांसदले गरे राष्ट्रपतिको गठबन्धन छोड्ने घोषणा

कोलम्बो : श्रीलंकाका ४० भन्दा बढी सांसदले राष्ट्रपति गोटाबाय राजापक्षको मिलीजुली सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्। 

गोटाबायको श्रीलंका पोडुजाना पेरामुनाको नेतृत्वमा रहेका दलहरूका सांसदले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएपछि वर्तमान सरकार थप संकटमा परेको छ।

आर्थिक र विदेशी मुद्राको कमीका कारण ऊर्जा संकट भोगिरहेको श्रीलंकामा राजापक्षको राजीनामा माग्दै ठूला प्रदर्शन भइरहेको समयमा साना दलहरूको यस्तो निर्णय आएको हो।

यो निर्णयपछि संसद्मा प्रधानमन्त्रीको अवस्थाका बारेमा प्रश्न उठेको छ। राजापक्षको मन्त्रिमण्डलका सदस्यले राजीनामा गरिसकेका छन् तर राजापक्ष र उनका दाइ प्रधानमन्त्री महिन्दा राजापक्षले राजीनामा दिन अस्वीकार गर्दै आएका छन्।

मंगलबार नवनियुक्त अर्थमन्त्रीले २४ घण्टा पनि नबित्दै राजीनामा दिने घोषणा गरेसँगै सरकार आर्थिक संकट थेग्न नै नसकिने अवस्थामा पुगेको पुष्टि भएको छ।

विदेशी मुद्राको सञ्चिती नभएका कारण श्रीलंकाले इन्धन र अन्य वस्तुको आयातको पैसा तिर्न सकेको छैन। सन् १९४८ मा स्वतन्त्र भएयता श्रीलंकामा देखिएको यो सबैभन्दा नराम्रो आर्थिक संकट हो।

चैत २३, २०७८ बुधबार ०७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।