उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन : पैसा बाँडे, भोज गरे कारबाही, भेस्ट, टोपीमा चिन्ह राख्न नपाइने

उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन : पैसा बाँडे, भोज गरे कारबाही, भेस्ट, टोपीमा चिन्ह राख्न नपाइने

काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले पालना गर्नुपर्ने ६० बुँदे निर्देशन जारी गर्दै मतदातालाई उपहार, पुरस्कार, इनाम, नगद वा जिन्सी र भोज गरेमा कारबाही गर्ने उल्लेख गरेको छ। उसले सामूहिक भोज गर्न र गराउन मन्जुर गर्न र सहभागी हुन समेत रोक लगाएको छ।

निर्वाचन प्रचारमा सबै प्रकारका भित्ते लेखनमा रोक लगाउँदै आयोगले ७५ ग्रामको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको, एकै रङ र मुद्रणको नाम रहेको पर्चा मात्र बाँड्न पाउने बताएको छ। उसले तुल ब्यानर र डिजिटल डिस्प्लेमा समेत प्रतिबन्ध लगाएको छ।

प्रचारमा सरकारी कर्मचारी र सरकारी सम्पत्ति प्रयोग हुन नहुने, सरकारी, गैर सरकारी र सार्वजनिक निकायबाट चन्दा लिन नपाउने, २५ हजार रुपैंयाभन्दा बढिको आर्थिक कारोबार वित्तीय संस्थाबाट गर्नुपर्ने निर्देशनमा उल्लेख छ।

जुलुस र आमसभामा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झन्डा अङ्कित, लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट समेत लगाउन र बोक्न रोकेको छ। निर्देशनमा तोरण बनाउन समेत रोकिएको छ।

चैत २२, २०७८ मंगलबार १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।