किशोरी कविताको हत्या आरोपमा ट्युसन जान बोलाउने उनकै साथी पक्राउ

किशोरी कविताको हत्या आरोपमा ट्युसन जान बोलाउने उनकै साथी पक्राउ

काठमाडौँ : उदयपुरकी कविता सुनुवारको हत्या गरेको आरोपमा उनीसँगै पढ्ने एक किशोरी र उनको ठुलो बुबाको छोरालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकी किशोरीले कवितालाई ट्युसन जान उनकै घरमा बोलाउन आएको र उनी र उनको दाइको शरीरमा चोट पटक देखिएको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

दुवै जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा छन्। प्रहरीले प्रारम्भिक अनुसन्धानमा दुबैबिच मनमुटाब भएकाले सो घटना घटेको देखाएको छ। तर कारण भने अझै प्रस्ट भई नसकेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले उकेरालाई जानकारी दिए।

मङ्गलवार बिहान विद्यालयमा ट्युसन पढ्न हिँडेकी किशोरीको शव यशोदा खोला नजिकै फेला परेको थियो। घटनाको दिन उनीहरू विद्यालय नगएको देखिएपछि प्रहरीले उनीहरूलाई शङ्काको घेरामा राखेको थियो।

दुबैलाई नियन्त्रणमा लिँदा उनीहरूको शरीरमा समेत चोट देखेपछि प्रहरीले हत्यामा संलग्न हुनसक्ने भन्दै अनुसन्धानका लागि हिरासतमा राखेको हो। पक्राउ परेका किशोरीको दाइ अर्कै विद्यालयका विद्यार्थी रहेको र उनी पनि घटना भएको बिहान कवितासँगै रहेको खुलेपछि प्रहरीले दुबैलाई शङ्का गरेको हो।

शवको पोस्टमार्टम हुन सकेको छैन। घटनास्थलमा देखिएको शवको अवस्थाका आधारमा ढुङ्गाले हानेर उनको हत्या गरेको देखिएको छ।

चैत २२, २०७८ मंगलबार १९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।