इन्डोनेसियामा १३ छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड

काठमाडौँ : इन्डोनेसियामा विद्यार्थीहरूलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ। ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरूलाई बलात्कार गरेको र आठ जना गर्भवती भएको ठहर अदालतले गरेको छ।
बाडुङ्गमा अवस्थित एक अदालतले गत फेब्रुअरी महिनामा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो। तर पीडित पक्षले विरोध गर्दै मृत्युदण्डको माग गर्दै अपिल गरेको थियो। त्यसपछि सोमबार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको न्यु योर्क पोस्टले जनाएको छ।
अदालतको वेबसाइटमा राखिएको एक विज्ञप्तिमा पनि आरोपीलाई मृत्युदण्डको सजाय सुनाइएको उल्लेख छ। इन्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीहरूले मृत्युदण्डको सजायको मागको समर्थन गरेका थिए। तर मानवअधिकार आयोगले भने मृत्युदण्डको सजाय उचित नहुने बताएको थियो।
चैत २२, २०७८ मंगलबार १७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।