नियुक्त भएको २४ घण्टामै श्रीलंकाका अर्थमन्त्रीले दिए राजीनामा

नियुक्त भएको २४ घण्टामै श्रीलंकाका अर्थमन्त्रीले दिए राजीनामा

कोलम्बो : श्रीलंकामा एक दिनअघि अर्थमन्त्रीमा नियुक्त भएका अली साबरीले राजीनामा दिएका छन्। हालै श्रीलंकामा जारी आर्थिक संकट र सरकारविरुद्धको प्रदर्शनका कारण मन्त्रिपरिषद्को सम्पूर्ण सदस्यले आइतबार राजीनामा दिएको थियो। मन्त्रिपरिषद्का सबै मन्त्रीले राजीनामा दिएपछि सोमबार नयाँ मन्त्रिपरिषद्ले सपथ ग्रहण गरेको थियो।

अली साबरीलाई अर्थ मन्त्रालयको जिम्मा दिइएको थियो। राष्ट्रपति गोटाबाया राजपाक्षेलाई पत्र लेख्दै राजीनामा दिएका हुन्। उनले लेखेको पत्रमा भनिएको छ, ‘अहिलेको अवस्थालाई ध्यानमा राखी यथोचित विचार गरेपछि यो अभूतपूर्व संकटसँग जुध्न अझ राम्रो व्यवस्था आवश्यक रहेको मेरो धारणा छ।’

यसअघिको सरकारमा अली साबरी न्यायमन्त्री थिए। तर, अप्रिल ३ मा उनले बाँकी मन्त्रीसहित राजीनामा दिएका थिए। त्यसपछि सोमबार उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो। पत्रमा उनले राष्ट्रपति राजपाक्षेले राम्रो व्यक्तिलाई अर्थमन्त्री बनाउन चाहेमा आफ्नो संसदीय सिट पनि त्याग्न तयार रहेको बताएका छन्। 
 

चैत २२, २०७८ मंगलबार १४:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।