मिलन-रन्जु जसले वैकल्पिक राजनीतिलाई जोक बनाए

मिलन-रन्जु जसले वैकल्पिक राजनीतिलाई जोक बनाए

काठमाडौँ : स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बन्दा रन्जु दर्शना विजयी त भइनन् तर चुनौती दिन लायक मत पाइन्।

विवेकशील नेपाली दलबाट उनी उम्मेदवार थिइन्। साझाबाट उम्मेदवार बनेका किशोर थापाको पक्षमा पनि उस्तै उत्साहजनक मत आयो। दुवै विजयी नभए पनि काठमाडौँ महानगरका मतदाताले परिवर्तनको पक्षमा रहेको प्रस्ट सन्देश दिए।

मेयर जितेका विद्या सुन्दर अलोकप्रिय मेयर बनेर बिदा हुँदै छन्। यदि यो बिचमा रन्जु र किशोरले इमानदारीपूर्वक प्रतिपक्षको प्रभावकारी भूमिका निभाएको भए यो पटक नतिजा उनीहरूको पक्षमा आउन सक्थ्यो। दुवै दल मिलेर विवेकशील साझा बनेपछि त महानगरवासीको भावनामाथि खेल्ने शाक्यमाथि थप नैतिक प्रहार हुनुपर्नेमा उल्टो दुवै नेताले महानगरवासीले दिएको मतको अपमान गर्दै निष्क्रिय बसे।

जसरी पाएको जिम्मेवारी निर्वाह नगर्दा शाक्यसँग पुन महानगरको मेयरको उम्मेदवार बन्ने नैतिक बल छैन त्यसरी नै  निष्क्रिय पाँच वर्षको यात्राले यी दुवैले पनि पुन मेयरको उम्मेदवार बन्ने आधार गुमाएका छन्। यी नेताले मात्र हैन, यी आबद्ध पार्टीले समेत उम्मेदवार उठाउने नैतिक आधार गुमाए। विवेकशीललाई साझामा लगेर मिसाउने नेताहरू अहिले दलविहीन छन्। साझा भाताभुङग छ।

तत्कालीन साझाका संयोजक रवीन्द्र मिश्रलाई विवेकशीलको अजेण्डा हैन ऊर्जावान् युवा कार्यकर्ता मात्र चाहिएको थियो। फिल्डमा खटिने त्यही कार्यकर्ता देखेर पहिलो एकता असफल भए पनि पाण्डे अध्यक्ष भएपछि उनले पुन एकताको च्याँखे दाउ फ्याकेका थिए जसमा पाण्डे समूह सहजै फस्यो पनि।

दोस्रो चरणको एकतामा सहभागी नभएका समूहले विवेकशीललाई उठाउन त खोजेका छन् तर एकता गराउनेहरूले साझासँगै विवेकशील मिसाइदिँदा यो शब्द पनि अरुचिकर बन्दै गएको देखिन्छ। यही देखेर होला किशोर थापाले त उम्मेदवार नबन्ने घोषणा गरिसके। तर रन्जु भने सामाजिक सञ्जालबाट शुभेच्छुकको मुड बुझ्ने प्रयासमा देखिन्छिन्। मंगलबारको उनले विवेकशील र राजनीतिक यात्राबारे थ्रेड नै ट्विट गरिन्। थ्रेडमा उनले साझासँग एकतालाई विवेकशीललाई राजनीतिक क्षेत्रबाट हटाउने रणनीतिको रूपमा व्याख्या गरेकी छिन्।

उनको थ्रेडमा साझामा जाने निर्णयप्रति पछुतो देखिन्छ। तर पार्टी संस्थापक उज्ज्वल थापा सहमत नहुँदा पनि ठुलो पार्टीको नेता बन्ने मिलन पाण्डे समूहको स्वार्थमा दोस्रो पटक विवेकशील साझासँग एकीकरण गर्नु र समर्थन गर्ने आफ्नो निर्णयप्रति उनले माफी मागेकी छैनन्। अन्यलाई दोष दिएर पन्छिने प्रयास गरेकी छिन्।

'विवेकशील नेपाली दलको साझा पार्टीसँग एकीकरण गरी विवेकशीललाई राजनीतिक क्षेत्रबाट हटाउने रणनीति पूर्ण सफल त कहिल्यै हुन सकेन तर विवेकशील यात्रालाई भने अतुलनीय क्षति पुग्यो,' उनले लेखेकी छिन् 'पहिलो पटक पार्टी एकीकरण र चिरा-चिरा बनाउन अहम भूमिका खेल्ने विज्ञहरू अचेल अन्य पार्टीलाई ज्ञान दिनुहुन्छ।'

दोस्रो पटकको एकीकरणमा उज्ज्वलजस्तै साझासँग एकीकरणको विपक्षमा रहेकाहरूले कर्मा तामाङको नेतृत्वमा नेपाल विवेकशील पार्टीलाई ब्युँताउने प्रयास गरिरहेका छन्। विवेकशील साझाबाट कारबाहीमा पर्दै निकालिएपछि उनी पनि मिलनझै साझा पार्टीको नाममा राजनीतिक यात्रा अगाडि बढाउने प्रयासमा छिन् या हिजोका विवेकशील समूहले ब्युँताउने प्रयास गरेको विवेकशील अभियानमा खुलेको छैन। सङ्केत भने गरेकी छिन्। तर अन्यप्रति असन्तुष्टि पोख्दै।

उनले ट्विट थ्रेडमा लेखेकी छिन् 'पार्टी भित्रका तमाम तमासा देख्दा, भोग्दा यो हामीले सुरु गरेको राजनीति नै होइन। असलमा हामी यस्तो गुहिए राजनीतिक कार्यहरू गर्न आएकै होइनौँ भन्ने धेरै पटक महसुस भएको छ। कैयौ साथी राजनीति त यस्तै हुनुपर्ने रहेछ भनेर लागेको देख्दा उदेक लाग्छ।'

उनले राजनीति सामाजिक विकास, मानिसको चेतना बढाउन नीति, अर्थव्यवस्था बलियो पार्न हुनुपर्ने, पार्टीको मूल एजेन्डा, विचारलाई राजनीतिक चरित्र अनुसार अधिवेशन र भेलाबाट संशोधन, विकास गर्न सकिने भन्दै जता हावा उतै विचार नहुने उल्लेख गरिन्।

अन्त्यमा उनले पार्टी पार्टी भन्दा धेरै समय बहुत तनावमा बितेको तर  खुसीको कुर तनावले छाला भने बाक्लो बनाउँदै लगेको भन्दै लेखिन्
'मङ्गल होस्'

तर संस्थापक थापाले हुन्न भन्दाभन्दै ठुलो दलको ठुलो नेता बन्ने लोभमा दोस्रो पटक एकता गर्ने उनी सहित पाण्डे, हरिश भट्ट लगायतकाको निर्णयले वैकल्पिक राजनीतिको धार र विवेकशील अभियानको मङ्गल नगरेको अझै स्वीकार भने गरिनन्। उज्जवल छुट्दा पनि दोस्रो एकिकरणको सहमती पत्र हस्तान्तरण हुँदा छेउमा उभिएर तालिको समर्थन गरेको पछुताइनन्।

चैत २२, २०७८ मंगलबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।