परिवर्तन विरोधीलाई परास्त गर्न गठबन्धन गरेका हौँ : मन्त्री भुसाल

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जनताको सङ्घर्षका बलमा प्राप्त उपलब्धि र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताएकी छन्।
गोदाबरी नगरपालिका-१४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै भनिन् प्राप्त उपलब्धि र संविधानको रक्षा तथा विकास गर्ने कार्यभार परिवर्तनकर्मी शक्तिको काँधमा आएको बताइन्।
'राष्ट्रिय राजनीतिका चुनौतीलाई सामाना गर्न, परिवर्तनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, त्यसलाई कार्यान्वयन गरेर समाजवादको आधार तयार पारेर जाने विषयमा वर्तमान गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता दलहरुबाट व्यक्त भएको छ', उनले भनिन्।
मन्त्री भुसालले गठबन्धनको संस्कृतिले निर्वाचनमा मात्र तालमेल गरी विजयी हुने मात्र नभइ परिवर्तनका एजेण्डाको रक्षा, राष्ट्रियता, जनता र संविधानको रक्षा गर्ने र त्यसका चुनौतीलाई सामना गर्न गठबन्धन आवश्यक भएको बताइन्। 'परिवर्तन विरोधी शक्तिलाई परास्त गर्न गठबन्धनको आवश्यकता थियो, आसन्न स्थानीय तह निर्वाचनमा परिवर्तनकारी शक्ति एक भएर अगाडि बढ्दैछौँ', उनले भनिन्।
मन्त्री भुसालले सात दशक लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समाजवादको आधार तयार गरेर सामाजिक न्यायमा आधारित समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन्। पछिल्ला पाँच वर्षको अवधिमा स्थानीय सरकारले धेरै काम सम्पन्न गरेका उल्लेख गर्दै उनले छोटो समयमा आधारभूत संरचनाको जग बसेको बताइन्। 'अब जो सुकै निर्वाचित भएर आउँदा पनि सोही जगबाट अगाडि बढ्न सहज हुनेछ ', बताइन्।
चैत २२, २०७८ मंगलबार १३:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।