निर्वाचन तयारी तथा अनुगमन समितिका सबै सदस्य तोकिए

काठमाडौंः आज गठन भएको निर्वाचन तयारी तथा अनुगमन समितिमा सञ्योजकसहित १० जना सदस्य रहने भएका छन्। समितिको सञ्योजकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन्।
नेता पौडेलको नेतृत्त्वमा गठबन्धनका पाँच दलबाट प्रतिनिधिहरू रहने गरी समिति गठन गरिएको छ। समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की छन्। माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन्।
१७ चैतमा बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेको थियो।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको आजको गठबन्धनको बैठकमा सत्ता साझेदार दलका शीर्षनेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल, पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईलगायत सहभागी थिए।
चैत २२, २०७८ मंगलबार १३:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।