बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको उद्धार

बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको उद्धार

काठमाडौंः महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ र विपद् व्यवस्थापन महाशाखा सामाखुशीको टोलीले काठमाडौं बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ। बूढानीलकण्ठ नगरपालिका–३ मित्रचोक बस्ने ४५ वर्षीय पेमा शेर्पालाई चार घण्टापछि सोमबार बेलुका सकुसल उद्धार गरिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार सोमबार दिउँसो २ः३० बाट हराएकी शेर्पाको साँझ ६ः३५ बजे इनारबाट सकुसल उद्धार गरिएको हो।

“अचेत अवस्थामा रहेकी शेर्पालाई १७ जनाको प्रहरी टोलीले उद्धार गरेको हो, शेर्पाको अहिले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित करुणा अस्पतालमा उपचार भइरहेको छ”, मैनालीले भने।

अचेत अवस्थामा रहेकी शेर्पा अहिले बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।

चैत २२, २०७८ मंगलबार १०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।