स्थानीय व्यवसायलाई डिजिटल प्लेटफर्ममा जोड्न डिजी पेको नयाँ फ्रेन्चाइज

स्थानीय व्यवसायलाई डिजिटल प्लेटफर्ममा जोड्न डिजी पेको नयाँ फ्रेन्चाइज

काठमाडौँ : डिजी पे प्रालिले 'डिजी पे फ्रेन्चाइज’ मार्फत स्थानीय बिजनेस पार्टनरसिप’ योजना अगाडि सारेको छ। मुलुकका दूरदराज गाउँसम्म पहुँच विस्तारका लागि  सो फ्रेन्चाइजको प्रारम्भ गरेको प्रालिले उल्लेख गरेको छ।

सन् २०१७ मा स्थापित डिजी पे एपबाट युटिलिटी पेमेन्टबाहेक ई– कमर्स, इभेन्ट तथा ट्राभल टिकट खरिद–बिक्री, डिजिटल भोटिङका साथै पहिलो पटक नगदमा समेत कारोबार गरी ग्राहक तथा व्यवसायीले हरेक खर्च तथा व्यापारमा आम्दानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

डिजी पे एप, फ्रेन्चाइजी लिनेले कम्पनीबाट उपलब्ध पूर्ण व्यापारिक योजना लागू गरी सहज तरिकाले मनग्गे आम्दानी गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। कम्पनीद्वारा प्रक्षेपित न्यूनतम लक्ष्य प्राप्त गर्दा मासिक ४ देखि ५ लाख रुपैयाँसम्म कमाउन सकिने उसको दाबी छ।

भौगोलिक आधारलाई ध्यानमा राखी सीमित सङ्ख्यामा मात्र वितरण गरिने डिजी पे फ्रेन्चाइजमा आबद्ध हुन वा सहकार्य गर्न इच्छुक व्यवसायीलाई कार्य दक्षता पूर्ण हासिल गर्नु नपर्ने र न्यूनतम लगानीमा बिना झन्झट ख्यातिप्राप्त तथा आधिकारिक ब्रान्डसँग सहकार्य गर्दै शीघ्र व्यवसाय सञ्चालन गरी मुनाफा तथा अवसर प्राप्त गर्न सकिने कम्पनीको दाबी छ।

कम्पनीको दाबी अनुसार सो एप हालसम्म १ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ। एपमा ३ सयभन्दा धेरै व्यवसायी आबद्ध भइसकेका छन्। डिजी पे फ्रेन्चाइज योजनाबाट मुलुक भरी ठुलो परिमाणमा रोजगारीको अवसर सिर्जना हुने कम्पनीको दाबी छ। कम्पनीले फ्रेन्चाइजलाई प्रभावकारी प्रचारप्रसार तथा प्रवर्द्धनका लागि पूर्व मिस नेपाल तथा सञ्चारकर्मी सुगारिका केसीलाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ।

चैत २०, २०७८ आइतबार १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।