सहिद तथा बेपत्ता परिवारलाई मासिक सहायता उपलब्ध गराउँदै भरतपुर महानगर

चितवन : चितवनको भरतपुर महानगरपालिकाले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद तथा बेपत्ता परिवारलाई मासिकरूपमा आर्थिक सहायता उपलब्ध गराउन सुरु गरेको छ।
सहिद तथा बेपत्ता परिवारको जीविकोपार्जनमा सहज बनाउन मासिकरूपमा दुई हजार उपलब्ध गराउन सुरु गरेको महानगर प्रमुख रेनु दाहालले बताइन्। महानगरपालिकाले आज विशेष कार्यक्रम गर्दै जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद तथा बेपत्ता परिवारलाई पाँच महिनाको सहायता रकम बराबर १० हजार एकमुष्ठ प्रदान गरेको छ। नेपालमा नै पहिलो पटक महानगरपालिकाले सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता सुरुआत गरेको प्रमुख दाहालले बताइन्।
आगामी दिनमा यस कार्यक्रमलाई निरन्तर दिइने र यो रकमलाई बढाउँदै लैजाने लक्ष्य रहेको उनले बताइन्। महानगर प्रमुख दाहालले पीडित परिवारलाई केही मात्रमा भए पनि मल्हम लगाउन सकिन्छ भन्ने उद्देश्यले नेपालकै स्थानीय तहमा पहिलो पटक यो कार्यक्रम सुरुआत गरिएको बताइन्।
देशमा परिवर्तन ल्याउन हरेक आन्दोलनमा परिवार गुमाएका परिवारलाई सम्मानस्वरूप यो कार्यको थालनी गरिएको उनको भनाइ छ। बेपत्ता, घाइते तथा सहिद परिवारलाई आर्थिक सहायता दिने गरी महानगरले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको थियो।
भरतपुर महानगरपालिकाले आज ६० जनालाई नगदसहित सम्मान पनि गरेको छ। महानगरले गत मङ्सिरमा सूचना निकालेर स्थायी बासिन्दाका लागि आवश्यक कागजातसहित निवेदन माग गरेको थियो। जिल्लामा ६०० बढी घाइते, सहिद तथा बेपत्ता परिवार रहेको तथ्याङ्क छ।
चैत २०, २०७८ आइतबार १९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।