स्वतन्त्र उम्मेदवारीको लहर तर विवेकशील साझाले पाएन उम्मेदवार

स्वतन्त्र उम्मेदवारीको लहर तर विवेकशील साझाले पाएन उम्मेदवार

काठमाडौँ : स्थानीय तहको निर्वाचनलाई दलविहीन प्रतिस्पर्धाको माहौल बनाउन देशैभर स्वतन्त्र उम्मेदवारी घोषणाकोक्रम बढेको छ। सहरी क्षेत्रका महानगरदेखि ग्रामीण तहको गाउँपालिकासम्म स्वतन्त्र व्यक्तिहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्।  तर वैकल्पिक राजनीति गर्ने दाबी गरेको विवेकशील साझाले भने उम्मेदवार नपाएर सार्वजनिक आव्हान गर्नु परेको छ।

गत स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरका किशोर थापालाई उम्मेदवार बनाएर माहौल बनाउन सकेको विवेकशील साझाले राजनीतिक लाइनका कारण विवादमा छ।

पार्टीमा बढ्दो विवाद अनि पार्टी अध्यक्ष रवीन्द्र मिश्रको गणतन्त्र विरोधी छविका कारण पछिल्लो समय विवेकशील साझाको विपक्षमा माहौल बन्दै गएको छ। पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकीकरण गर्न वार्ता भएको खुलेसँगै वैकल्पिक राजनीतिको बदनाम गरेको भन्दै मिश्र आलोचित भइरहेका छन्।

गत निर्वाचनमा स्वतःस्फूर्त उम्मेदवार बन्न चाहनेहरूको सङ्ख्या बाक्लै थियो साझामा। तर आगामी वैशाख ३० को निर्वाचनका लागि भने उनीहरूले तराजु चुनाव चिन्ह लिएर उम्मेदवार बन्न चाहनेहरूलाई सार्वजनिक आव्हानै गरेका छन्।

तराजु चिन्ह लिएर उम्मेदवार बन्न गरिएको आव्हानमा 'आगामी स्थानीय निर्वाचनमा देशभरबाट सक्षम र इमानदार व्यक्तिहरूलाई पार्टीको तराजु चुनाव चिह्नबाट प्रतिस्पर्धाका लागि प्रस्ताव पेस गर्न' भन्दै प्रदेश अध्यक्षहरूको सम्पर्क नम्बर दिएका छन्।

अटेरी समूह अगाडि

साझा उम्मेदवारको खोजीमा लागेको बेला उता पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका साहित्यकार गणेश पौडेलको अटेरी अभियान प्रभावकारी देखिएको छ। प्रारम्भमा पौडेलले एक्लै उम्मेदवारी घोषणा गरेका छन्। अहिले पोखराको २० वटा वडामा सोही अभियान अन्तर्गत वडा अध्यक्षको उम्मेदवारीहरू घोषणा भइसकेको छ।

पौडेलले सामाजिक सञ्जालमा राखेको विवरण अनुसार बिर्तामोड नगरपालिकाको मेयरमा प्रज्वल अधिकारी शर्मा, गण्डकी गाउँपालिका गोरखामा विशेष पन्त, कालिका नगरपालिका चितवनमा केएच बुढाथोकी, सैनामैना नगरपालिकामा तारा गौतमले उम्मेदवारी घोषणा गरेका छन्।

अटेरी अभियानमा सहभागी नभए पनि खाँदबारी नगरपालिकाको मेयरमा दीपेन्द्र वान्तवाले उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा सुमित खरेलले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

चैत २०, २०७८ आइतबार १९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।