डाक्टर पढ्न यस्तोसम्म अपराध : १८ लाख तिरेर भारतबाट समेत परीक्षार्थी ल्याइयो, पाँच जना हिरासतमा

डाक्टर पढ्न यस्तोसम्म अपराध : १८ लाख तिरेर भारतबाट समेत परीक्षार्थी ल्याइयो, पाँच जना हिरासतमा

काठमाडौँ : एमबिबिएस पढ्न परीक्षार्थीले प्रवेश परीक्षामा खेताला परीक्षार्थी प्रयोग गरेको खुलेको छ। प्रवेश परीक्षामा सहभागी विध्यार्थीहरुले किस्ट कलेजमा एमबिबिएस पढिरहेका विद्यार्थीलाई परीक्षार्थीको रूपमा प्रयोग गरेको खुलेको हो।

चिकित्सा शिक्षा आयोग, सानो ठिमी, भक्तपुरले लिएको चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा केन्द्रमा गएका पाँच जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो। 

प्रहरीले अमर पण्डित, अनिकेत चौधरी, राम आशिष यादव, ईस्तियाख अहमद र सन्नी कुमार साहलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत छन्।

पण्डित सिसिआरसी कलेज कुमारीपाटीको परीक्षा केन्द्रमा पक्राउ परेका हुन्। उनी वृकेश यादवको नाममा परीक्षा केन्द्रमा गएका थिए।  चौधरी पनि सोही परीक्षा केन्द्रमा अजिवकुमार यादव बनेर परीक्षा दिन गएका थिए।

यादव स्मित सिंह बनेर ग्रामर स्कुल कोटेश्वरको परीक्षा केन्द्रमा गएका थिए। भारत विहारका अहमद एम्बिसन कलेजमा सन्नीकुमार शाह बनेर गएका थिए। र सन्नी कुमार साह भारतीय नागरिक अहमदलाई परीक्षा दिन पठाएर आफू बाहिर बसेको अवस्थामा पक्राउ परेका हुन्।

पक्राउ परेकाहरू एमबिबिएस पढिरहेका विध्यार्थीहरु समेत छन्। नक्कली परीक्षार्थीको आरोपमा पक्राउ परेका अमर पण्डित, अनिकेत चौधरी एमबिबिएस प्रथम वर्षका विद्यार्थी हुन् भने रामआशिस यादव तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्।

प्रहरीका अनुसार उनीहरूले प्रवेश पत्रको तस्बिर परिवर्तन गरेर नक्कली परीक्षार्थीको तस्बिर टाँसेर परीक्षा केन्द्रमा गएका थिए।

महाशाखाका अनुसार स्कलरसिपमा एमबिबिएस पढिरहेका र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई उनीहरूले परीक्षाको नतिजा आए अनुसार पैसा दिने सर्तमा परीक्षार्थी बनाएका थिए।

उनीहरूले निःशुल्क पढ्न पाउने छात्रवृत्ति पाउने, पैसा तिरेर पढ्न पाउने र पास मार्क मात्र आएको आधारमा २ लाखदेखि १८ लाखसम्म दिने सर्तमा उनीहरूलाई परीक्षामा सहभागी गराएका थिए।

सक्कली विद्यार्थीले नक्कली विध्यार्थीहरुलाई ५० हजार देखि २ लाखसम्म अग्रिम भुक्तानी समेत गरिसकेको महाशाखाको दाबी छ। उनीहरूले प्रवेश परीक्षामा तस्बिर परिवर्तन गर्नेदेखि लिएर नागरिकतामा समेत तस्बिर परिवर्तन गरेको देखिएको छ।

चैत २०, २०७८ आइतबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।