विश्वभर झण्डै आधा गर्भधारण अनिच्छित: युुएनएफपीए

विश्वभर झण्डै आधा गर्भधारण अनिच्छित: युुएनएफपीए

एजेन्सीः संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्ष निकालेको छ। ‘स्टेट अफ वर्ल्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा विश्वमा प्रत्येक वर्ष १२ करोड १० लाख महिला तथा किशोरी गर्भधारणको इच्छा नहुँदानहुँदै गर्भवती हुन बाध्य भइरहेको उल्लेख छ। 

युएनएफपीएले यसलाई विश्वव्यापी सङ्कट भनेको छ। प्रतिवेदनअनुसार गर्भधारणबाट प्रभावित भएका महिला तथा किशोरीका लागि गर्भवती हुने वा नहुने भन्ने प्रजनन छनोटको विकल्प नै छैन। आफ्नो जीवन नै परिवर्तन गरिदिने गर्भधारणजस्तो अवस्था पनि उनीहरूको छनोटको पहुँचभन्दा बाहिर देखिएको प्रतिवेदनमा उल्लेख छ।

‘सिइङ द अनसिन: द केश फर एक्सन इन द नेग्लेक्टेड क्राइसिस अफ अनइन्टेन्डेड प्रिग्नेन्सी’ शीर्षक दिइएको प्रतिवेदनले मानवअधिकारको क्षेत्रमा देखिएको यस्तो सङ्कटले समुदाय, महिला तथा किशोरी र विश्व स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउने चेतावनी दिइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सन् २०१७ को तथ्याङ्कानुसार नेपालमा अनुमानित १२ लाखमध्ये झण्डै आधा अनिच्छित गर्भधारण थियो। यसमध्ये करिब तीन लाख ५९ हजारले गर्भपतन गराएका थिए। नेपालमा कानूनी मान्यता प्राप्त गरेको गर्भपतनले मातृ मृत्युदर घटाउन महत्त्वपूर्ण योगदान गरे पनि अधिकांश गर्भपतन अहिले पनि अदक्ष सेवा प्रदायक वा गर्भवती महिला आफैँले औषधि प्रयोग गरी गर्ने गरेका छन्।

“यो प्रतिवेदन एउटा ‘वेकअप कल’ हो। अनिच्छित गर्भाधारणमा देखिएको यस्तो अप्रत्यासित सङ्ख्याले महिला तथा किशोरीको सामान्य मानवअधिकार प्रवर्द्धनमा विश्व समुदायको असफलताको प्रतिनिधित्व गर्छ”, युएनएफपीएका कार्यकारी निर्देशक डा. नतालिया कनेम भन्छिन्, “गर्भाधारणबारे आधारभूत निर्णय गर्ने शक्ति महिला तथा किशोरीकै हातमा सुम्पिएर मात्र समाजले महिला तथा किशोरीका लागि मातृत्व अपरिहार्यता नभएर, चाहना भएको सुनिश्चित गर्नसक्छ।”

प्रतिवेदनमा गर्भधारणको इच्छा नभए पनि अनुमानित २५ करोड ७० लाख महिला परिवार नियोजनका सुरक्षित र आधुनिक तरिका प्रयोग गर्दैनन् भन्ने उल्लेख छ।

नेपालमा अझै पनि ४१ प्रतिशत किशोरीको विवाह १८ वर्षअगावै हुने गरेको छ। किशोरावस्थामा गर्भाधारण गरेका किशोरीमध्ये आधा गर्भधारण अनिच्छित छ। यसको मुख्य कारण विवाहिता किशोरीमा परिवार नियोजनका सामग्री प्रयोग गर्नेको सङ्ख्या २३ प्रतिशत मात्रै छ। जबकि राष्ट्रिय औषतमा हेर्दा परिवार नियोजनका सामग्री प्रयोग गर्ने महिलाकोे सम्पूर्ण सङ्ख्या ४३ प्रतिशत छ।

विवाहिता किशोरी बच्चा पाउने पारिवारिक दबाबका कारण प्रायः कम उमेरमै आमा बन्छन्। यसले उनीहरू र उनका बच्चालाई उल्लेखनीयरूपमा मृत्यु वा क्षतिको जोखिममा पुर्याउँछ। 

प्रतिवेदनले निर्णयकर्ता र स्वास्थ्य संरचनालाई परिवार नियोजनका सामग्रीको पहुँच, स्वीकार्यता, गुण र विविधतामा सुधार गरी अनिच्छित गर्भाधारणको रोकथामलाई प्राथमिकतामा राख्न र गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवा र सूचनामा व्यापक विस्तार गर्न आह्वान गरेको छ।

यस्तै महिला तथा किशोरीलाई यौन, परिवार नियोजनका सामग्री र मातृत्वका सम्बन्धमा साहसिक निर्णय लिन सक्ने बनाउन तथा महिला तथा किशोरीको महत्त्व चिन्न सक्ने समाजको प्रवर्द्धन गर्न नीति निर्माता, समुदायको नेतृत्त्व र सम्पूर्ण व्यक्तिलाई प्रतिवेदनले अपिल गरेको छ।

चैत २०, २०७८ आइतबार १०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।