अस्ट्रेलियाविरुद्धको एकदिवसीय श्रृङ्खला पाकिस्तानलाई, बाबर आजम 'म्यान अफ द सिरिज'

काठमाडौंः गए राति सम्पन्न अष्ट्रेलियाविरुद्धको तीन एकदिवसीय श्रृङ्खलामा पाकिस्तानले जित हासिल गरेको छ। लामो समयपछि पाकिस्तानको भ्रमण गरेको अष्ट्रेलियाविरुद्ध श्रृङ्खला २-१ ले पाकिस्तानले जितेको हो।
पाकिस्तानले अष्ट्रेलियाविरुद्ध श्रृङ्खाला जितेको यो सन् २००२ पछिकै पहिलो पटक हो।
यसअघि भएको टेस्ट श्रृङ्खलामा भने पाकिस्तानलाई होम ग्राउण्डमै अष्ट्रेलियाले १-० ले हराउँदै उपाधि चुमेको थियो। अब यी दुई टोलीबीच एक टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेल बाँकी छ। टी ट्वेन्टी मङ्गलबार राति ८:४५ बाट सुरु हुनेछ।
यता एकदिवसीयमा बाबर आजम छाए। उनले लगातार पछिल्लो दुई खेलमा शतक बनाए। हिजो भएको खेलमा अविजित १०५ रन बनाएका बाबर म्यान अफ द म्याच भए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उनी नै म्यान अफ द सिरिज पनि भए।
अष्ट्रेलियालाई पाकिस्तानले तेस्रो म्याचमा ९ विकेटले हराएको थियो। जितमा इमाम-उल-हकले पनि ८९ रनको उत्कृष्ट पारी खेलेका थिए। ओपनिङमा आएका फखार जमान भने १२ बलमा १७ रन बनाउँदै क्याच आउट भएका थिए।
यता अष्ट्रेलिया भने टस हारेर ब्याटिङमा उत्रिएको थियो। तर पाकिस्तानी तीव्र गतिका बलरका सामु अष्ट्रेलियाली ब्याट्सम्यान चल्न सकेनन्। ह्यारिस राउफ र मोहम्मद वासिमले समान ३-३ विकेट लिए। शाहीनशाह अफ्रिदीले २ विकेट लिए।
अष्ट्रेलिया ४१.५ ओभरमा २१० रनमै समेटिएको थियो। पाकिस्तानले यो लक्ष्य ३७.५ ओभरमा भेटाएको थियो।
अष्ट्रेलियाका लागि ब्याटिङतर्फ एलेक्स क्यारीले ५६, सन एबटले ४९ र बेन म्याकडर्मोटले ३६ रन बनाउनु बाहेक अरू खासै जमेनन्। बलिङतर्फ नेथन एलिसको नाममा एक विकेट मात्र रह्यो।
पहिलो एकदिवसीयमा ८८ रनले अष्ट्रेलिया विजयी भएको थियो। दोस्रोमा पाकिस्तानले कमब्याक गर्दै ६ विकेटले जितेको थियो।
चैत २०, २०७८ आइतबार ०८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।