आज ८ बजेबाट दैनिक दुई पटक सञ्चालनमा आउँदै रेल सेवा, भाडा पनि तोकियो

आज ८ बजेबाट दैनिक दुई पटक सञ्चालनमा आउँदै रेल सेवा, भाडा पनि तोकियो

काठमाडौंः आज बिहानबाट जयनगर–कुर्था रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु हुँदैछ। हिजो नेपाल र भारतका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका थिए। 

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउनेछ। उनका अनुसार दैनिक दुई पटक जयनगर–कुर्था रेल चल्नेछ।

जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्नेछ। कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको छ।

जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको छ।

रेल चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्नेछ। खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई मध्यनजर गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको महाप्रबन्धक झाले बताए।

नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्नेछ। यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ।

१० देखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा स्कुलको फोटोसहितको परिचयपत्र अनिवार्य साथमा राख्नुपर्ने कम्पनीले जनाएको छ। त्यस्तै भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र लिनुपर्ने जनाइएको छ।

जयनगरबाट कुर्थासम्म चल्ने रेल सेवाको भाडा सामान्य सिटमा प्रतियात्रु रु ९० र एसी सिटमा रु ४५० भाडा निर्धारण गरिएको छ।

चैत २०, २०७८ आइतबार ०७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।