आयल निगम र पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति, भोलिबाट आपूर्ति सुचारू हुने
काठमाडौँ : काठमाडौँ। आयल निगम र पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति भएको छ। सहमतिपछि व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर पेट्रोलियम कारोबार पूर्ववत रुपमा संचालन गर्ने भएका छन्।
निगमको केन्द्रीय कार्यालय टेकुमा आज भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो। समन्वय समितिले गत फागुन २३ मा निगम समक्ष पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी माग पेस गरेको थियो।
छलफलबाट पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा आगामी जेष्ठ १५ सम्ममा सक्ने सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू आजैको मितिदेखि स्थगन गरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रूपमा सञ्चालन गर्ने सहमति भएको छ।
पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू आइतबार बिहान ८ बजेदेखि नै सञ्चालन गरिने निगमले जनाएको छ। प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले आजै पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका थिए।
उनले आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए।
चैत १९, २०७८ शनिबार २२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।