इन्धन ब्यवसायीको गैर कानुनी काम : निगमको डिपोमा इन्धन छ तर कमिसन बढाउन पम्प उठाउँदैन

इन्धन ब्यवसायीको गैर कानुनी काम : निगमको डिपोमा इन्धन छ तर कमिसन बढाउन पम्प उठाउँदैन

काठमाडौँ : इन्धन महँगिँदै गएको बेलामा ढुवानीकर्ता र पम्प सञ्चालक मिलेर कमिसन बढाउन इन्धन आपूर्ति ढप्प पारेका छन्।

उनीहरूले डिजेलको भाउ बढेकाले डिजेल-पेट्रोल बोक्ने टयांकरको भाडा बढाइनु पर्ने, विरतकको कमिसन बढाउनुपर्ने  लगायतका माग राखेर पेट्रोलियम पदार्थ बिक्री वितरणमा अवरोध सुरु गरेका छन्।

इन्धन नउठाउने अनि उठाए पनि विक्री नगर्ने गरेपछि पम्प अगाडि नाकाबन्दीकालिन लामो लाइन सुरु भएको छ। बजारमा ग्याँसको अभाव सुरु भइसकेको छ। इन्धन अत्यावश्यक सेवा हो। यसको अवरोध निषेध भए पनि सरकार निष्क्रिय बसेको छ।

प्रधानमन्त्री भारत भ्रमणमा छन्। यता कार्यवाहक प्रधानमन्त्री समेत रहेका गृहमन्त्री बालकृष्ण खाँण टेलिफोनबाट निर्देशन दिएर बसेका छन्।

उनले शनिवार फोनमार्फत पेट्रोलियम पदार्थ  आपूर्तिमा भइरहेको अवरोध हटाउन आपूर्ति सचिव डा. गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई निर्देशन दिए।

उनको सचिवालयले दिएको जानकारी अनुसार खाँणले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा नचाहँदै कठोर हुन पर्ने  चेतावनी दिएका थिए।

उनले व्यवसायीहरूले पेट्रोलियम पदार्थ बेचे नबेचेको अनुगमन गर्न निर्देशन दिएपछि प्रहरीले पम्पको अनुगमन समेत थालेको छ। तर शनिवार अधिकांश पम्प बन्द हुन्छन्।

खुलेका केही निजी र सुरक्षा निकायको पम्प अगाडि उपभोक्ताको लाइन छ। निर्देशन अनुसार काठमाडौँको २० वटा पम्पको अनुगमन गर्दा केहीले इन्धन नबेचेको देखिएको थियो। निगमले शनिवार पनि आन्दोलनरत पक्षसँग वार्ता गर्ने तयारी गरेको छ। 

चैत १९, २०७८ शनिबार १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।