छलफल गर्न प्रधानमन्त्रीले नबोलाएको भन्ने ओलीको आरोप झुट : प्रवक्ता महत

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेताहरूसँग छलफल गर्न नचाहेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको झुटो भएको बताएका छन्।
देउवाले छलफल गर्न चाहेर बोलाएको तर ओलीसहितका विपक्षी दलका अन्य नेताहरू काठमाडौँबाहिर रहेकाले छलफल गर्न सम्भव नभएको उनले स्पष्ट पारे।
‘ओलीजी झुटमाथि झुटको कुरा गर्न अग्रणी स्थानमा छन्। त्यस्तो झुटलाई चिर्न जुरुरी छ। उहाँले भारत भ्रमणमा देउवाजी जानुभयो, हामीसँग कुराकानी गर्नुभएन। फोनसमेत गर्नुभएन भनेर व्यापक प्रचार गर्नुभयो। त्यो सरासर झुट हो। सम्पूर्ण विपक्षी दलका नेताहरूलाई बोलाइएको तर सबै नेताहरू बाहिर रहेका कारण छलफल नभएको हो, उनले भने।
बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले सनिवार आयोजना गरेको दोस्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले अध्यक्ष ओली जनतातिर फर्केर राष्ट्रियताको ठुला कुरा गर्ने र सम्बन्धित ठाउँमा चूँ नबोल्ने नेता भएको आरोप लगाए। कांग्रेस भने सशक्त ढंगले सम्बन्धित ठाउँमा सु-स्पष्ट ढंगले कुरा राख्ने पार्टी भएको दाबी गरे।
भारत भ्रमणमा रहेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सीमासम्बन्धी सवाल उठान गर्ने र ढिलो चाँडो टुंगो लाग्ने बताए। फरक प्रसङ्गमा उनले किसुनजी अर्थात कृष्णप्रसाद भट्टराई निष्कलंक र सादा जीवन जिउने पूर्वप्रधानमन्त्री भएको भन्दै चर्चा गरे।
चैत १९, २०७८ शनिबार १४:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।