देउवा-मोदी भेट: रेल र प्रशारण लाइन उद्घाटन, संयन्त्रमार्फत सीमा समस्या समाधान गर्न प्रस्ताव

देउवा-मोदी भेट: रेल र प्रशारण लाइन उद्घाटन, संयन्त्रमार्फत सीमा समस्या समाधान गर्न प्रस्ताव

काठमाडौंः भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुईबीच भेटवार्ता भएको हो।

भेटमा बहुआयामिक नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो।

भेटपछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल-भारत सम्बन्धमा नयाँ अध्यायको सुरुआत भएको बताए।

यता देउवाले भने मोदीसँग सीमा समस्याबारे छलफल गरेको बताएका छन्। उनले आफूले द्विपक्षीय संयन्त्रहरूमार्फत सीमा समस्या समाधान गर्न प्रस्ताव गरेको पनि बताए।

यस्तै दुई देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट संयुक्त रूपमा नेपाल रेल सेवाको उद्घाटन समेत गरेका छन्। कुर्था-जयनगर ३५ किलोमिटर रेल सेवाको आज उद्घाटन भएको हो।

यसका साथै १३२ केभी क्षमताको ९० किलोमिटर लामो सोलु कोरिडोर प्रसारण लाइन आयोजना समेत उद्घाटन भएको छ। भारतले दिएको तीन अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित कोरिडोर आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।

यस्तै नेपालमा रुपे कार्डको सुरआत पनि गरिएको छ। भारतीय प्रधानमन्त्री मोदीले नेपालमा रुपे कार्डको सुरुआतलाई अर्थव्यवस्थाको कनेक्टिभिटीमा नयाँ अध्याय रहेको बताएका छन्।

योसँगै अन्य प्रोजेक्टहरू जस्तो नेपाल पुलिस एकेडेमी, नेपालगञ्जको एकीकृत चेक पोस्ट, रामायण सर्किट आदिले दुई देशलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरिएको छ।

चैत १९, २०७८ शनिबार १३:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।