मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धन गर्न बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै
काठमाडौंः नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धनका लागि ‘बीबीसी मास्टर सेफ’को टोली नेपाल आउने भएको छ। प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत ‘बिबिसी मास्टर सेफः द प्रोफेशनल २०२०’ का फइनालिस्टहरूलाई नेपाल ल्याउन लागेको हो।
पाटा नेपाल च्याप्टरले एक विज्ञप्तिमार्फत यस्तो बताएको हो।
पाटा नेपालका अनुसार मास्टर सेफ टोली ७ अप्रिल २०२२ मा काठमाडौं आउने छ। उनीहरू नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछन्। कृषक समूह/सहकारी संस्थाको समन्वयमा नगरपालिकाको कुनै एक ठाउँमा संचालन हुने नेपाल आउने टोलीमा सेफ सन्तोष साह, सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपा लगायत रहनेछन्।
कार्यक्रमअन्तर्गत काठमाडौंमा ‘फाइनडाइनिङ’, जनकपुरमा ‘मिथिला खाना तथा रेसिपी’ विषयमा कार्यक्रम र बर्दियामा थारू संस्कृति तथा खानासम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमसहित मास्टर सेफहरूद्वारा नेपालको खानाको रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिनेछ।
यस्तै सगरमाथा आधार शिविर कालापत्थर र नेपालको साहसिक पर्यटनको राजधानी पोखरामा समेत भ्रमण एवम् पर्यटन प्रवर्द्धनका कार्यक्रम हुनेछ। मास्टर सेफहरू अप्रिल ११ मा काठमाडौंमा आयोजना हुने पाटा नेपालको ४५औं वार्षिक साधारण सभाको औपचारिक समारोहमा पनि सहभागी हुनेछन्।
‘मास्टर सेफ फाइनालिस्ट टुर टू नेपाल’ नामक कार्यक्रममार्फत प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवर्द्धन गर्ने पहलले महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा विशेष सहयोग हुने पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले बताए।
चैत १९, २०७८ शनिबार १२:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।