कांग्रेसले वडा तहसम्मै प्रचार संयन्त्र तयार गर्ने, क्षेत्रीय समितिलाई प्रेस युनियनसँग समन्वय गर्न आग्रह

काठमाडौंः नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ। पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका सञ्योजक डा. प्रकाशशरण महतको अध्यक्षतामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो।
प्रदेश, जिल्ला, क्षेत्रीय, प्रदेश सभा क्षेत्रीय, गाउँ, नगर र वडा कार्यसमितिमा आवश्यकता अनुसार प्रचार संयन्त्रको गठन गर्ने समितिले जनाएको छ।
यसअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महतको सञ्योजकत्वमा शुक्रबार ६७ सदस्य मनोनयन गरेका थिए। सोही समितिको शुक्रबार बसेको बैठकले तत्कालै केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र (मिडिया सेन्टर) स्थापना गर्ने निर्णय पनि गरेको छ।
प्रदेश र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने, स्थानीय तहका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी स्थानीय तहसम्म सम्प्रेषण गर्ने समितिले निर्णय गरेको छ।
समितिले पार्टीको प्रचार प्रसारका लागि आवश्यक प्रचार सामग्री निर्माण गर्ने र रेडियो, एफएम, टिभी, छापामाध्यम, अनलाइन तथा सामाजिक सञ्जाल जस्ता विभिन्न माध्यमबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने जनाएको छ। यस्तै समितिले कांग्रेसका सम्पूर्ण जानकारी दिन मिल्ने गरी एक एप बनाउने र त्यसलाई प्रचारप्रसारका लागि उपयोग गर्ने तथा आवश्यकता अनुसार परिस्कृत गर्दै जाने तयारी गरेको छ।
समितिको शुक्रबारको बैठकले प्रत्येक क्षेत्रीय कार्यसमितिलाई आफ्ना पालिकामा प्रचारप्रसार समिति गठन गर्न र त्यस्ता समिति गठन गर्दा नेपाल प्रेस युनियनसँग समन्वय गर्न पनि आग्रह गरेको छ।
चैत १९, २०७८ शनिबार १२:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।