बुढानीलकण्ठ दुर्घटनाको फैसला गर्ने न्यायाधीश सर्वोच्च तानिए

बुढानीलकण्ठ दुर्घटनाको फैसला गर्ने न्यायाधीश सर्वोच्च तानिए

काठमाडौँ : रक्सी खाएर गाडी चलाएर पैदल यात्रीलाई किचेर ज्यान लिने घटनाका दोषीलाई छ महिना कैद सजायको फैसला गरेका न्यायाधीश सर्वोच्च अदालत तानिएका छन्।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायाधीश सूर्यप्रसाद अधिकारीलाई काजमा सर्वोच्च अदालत तानेका हुन्। अधिकारीले बुढानीलकण्ठमा दुर्घटना गराएर लीला देवकोटाको ज्यान गएको घटनाका दोषी पृथ्वी मल्ललाई अनजानबश दुर्घटना गराएको देखिएको भन्दै छ महिना जेल र एक हजार जरिवानाको फैसला गरेका थिए।

फैसलाको आलोचना भएपछि सर्वोच्च प्रशासनले फैसला र मिसिलमा संलग्न प्रमाणको अध्ययन गरेको थियो। अध्ययनमा फैसलामा कैफियत देखिएपछि जिल्लाबाटै तलब खाने गरी काजमा सर्वोच्च तान्ने निर्णय भएको स्रोतले बतायो।

फैसलाको आलोचना भएपछि अधिकारी मिडियामा बोल्दै सामान्य गतिमा भएको गाडी दुर्घटनामा पर्नु सामान्य हो भन्ने प्रतिक्रिया दिएका थिए।

शङ्कास्पद सवारी चालक अनुमति पत्र, रातभर रेस्टुरेन्ट घुमेर रक्सी खाएर सवारी चलाउनु जस्ता गम्भीर पाटोलाई न्यायाधीशले वास्ता गरेका थिएनन्।

चैत १९, २०७८ शनिबार ०९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।