देउवा-मोदी भेटवार्ता आज: रेल, प्रशारण लाइन र स्वास्थ्य चौकी उद्घाटन गरिने

काठमाडौंः तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। भारतस्थित नेपाली राजदूतावासका अनुसार प्रधानमन्त्री देउवा र उनका समकक्षी मोदीबीच आज नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेट हुनेछ।
दुई देशका प्रधानमन्त्रीसँगै प्रतिनिधिमण्डलस्तरीय वार्ता समेत हुनेछ। वार्तापछि देउवा र मोदीले संयुक्त रूपमा जयनगर–कुर्था रेलसेवाको उद्घाटन गर्नेछन्। यस्तै सोलु करिडोर प्रसारण लाइन र १३२ वटा स्वस्थ्यचौकीको पनि उद्घाटन हुनेछ।
द्विपक्षीय सम्झौताको आदानप्रदानपछि संयुक्त प्रेस वक्तव्य जारी गर्ने र दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। साथै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ।
देउवाले आजै दिउँसो ४ः३० मा भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री देउवाले आजै साँझ भारतीय व्यापारिक समुदायसँग अन्तरक्रिया पनि गर्नेछन्।
५० सदस्यीय प्रतिनिधिमण्डलसहित भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा भोलि नेपाल फर्कने तालिका रहेको छ।
चैत १९, २०७८ शनिबार ०८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।