अमेरिकाले लैङ्गिक तटस्थ राहदानी जारी गर्ने

काठमाडौँ : अमेरिकी नागरिकहरूले आफ्नो राहदानी आवेदनहरू र सामाजिक सुरक्षा पत्रहरूमा लिङ्ग पहिचानका लागि एक्स (x) छनोट गर्न पाउने भएका छन्। राष्ट्रपति जो बाइडेन प्रशासनले बिहीबार आफ्नो ट्रान्सजेन्डर नागरिकहरूलाई लक्षित गर्दै आफ्नो राज्य कानुनको समर्थनमा सो घोषणा गरेको हो।
सुरक्षापत्रहरुमा हाल लैङ्गिक सूचकहरू समावेश गर्न दिइएको थिएन। अमेरिकी राज्य विभागले गएको जुन महिनामै आफ्ना नागरिकहरूले चिकित्सा कागजातहरू पेस नगरीकन विभिन्न कागजातहरुमा आफ्नो लिंग चयन गर्न सक्ने जनाएको थियो। त्यस्तै अक्टोबरमा भने यसले उक्त चिन्हका साथ गैर–द्वयसांख्यिक, अन्तरलिङ्गी र लिङ्ग पहिचान नभएका अन्य व्यक्तिहरूलाई पनि पुरुष वा महिला बाहेक अर्को विकल्प छान्न दिएर आफ्नो राहदानी जारी गर्न अनुमति दिइयो।
विदेश सचिव एन्टोनी ब्लिन्केनले जारी गरेको विज्ञप्ति अनुसार, 'अप्रिल ११ देखि, अमेरिकी नागरिकहरूले राहदानी आवेदनमा आफ्नो लिङ्ग चिन्हको रूपमा 'x' चयन गर्न पाउनेछन्। र यो विकल्प अर्को वर्ष कागजातका अन्य प्रकारका लागि समेत उपलब्ध हुनेछ।'
ओक्लाहोमा र एरिजोना राज्यका रिपब्लिकन गभर्नरहरूले विद्यालयहरूमा केटीहरूको खेलकुदमा ट्रान्सजेन्डर खेलाडीहरूलाई प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेको एक दिन पछि प्रशासनले “दृश्यताको ट्रान्सजेन्डर दिवस“ को रूपमा चिनाउन सो घोषणा गरेको हो।
तिनीहरू विवादास्पद चुनावी वर्ष मुद्दामा समान कानुनहरू पारित वा लागू गरेको राज्यहरूको बढ्दो सूचीमा सामेल भए। हालैका वर्षहरूमा संयुक्त राज्य अमेरिकाका केही राज्यहरूमा भइरहेको संस्कृति युद्धहरूमा ट्रान्सजेन्डर अधिकारहरू सँगै प्रजनन अधिकार जस्ता मुद्दाहरू अगाडि आइरहेका छन्।
ह्वाइट हाउसले ट्रान्सजेन्डर व्यक्तिहरूका लागि अवरोधहरू हटाउने उद्देश्यका साथ पहलहरू गरेको भन्दै जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, 'प्रशासनले फेरि एक पटक देशभरका राज्य विधायिकाहरूमा पेस गरिएको र पारित गरिएका खतरनाक ट्रान्सजेन्डर विधायिका आक्रमणहरूको फैलावटको निन्दा गरेको छ।'
विज्ञप्तिमा उनीहरूलाई यात्रामा सहज बनाउने, ट्रान्सजेन्डर बालबालिका र तिनीहरूका परिवारहरूलाई आवश्यक स्रोतहरू उपलब्ध गराउने, संघीय सेवाहरू र सुविधाहरूमा पहुँच सुधार गर्ने र संघीय डेटामा समावेशीकरण र सहभागितालाई अगाडि बढाउने पनि उल्लेख छ।
यातायात सुरक्षा प्रशासनले प्याट–डाउन स्क्रीनिंगको संख्या घटाउँदै इमेजिङ टेक्नोलोजीमा परिवर्तनको साथ आफ्नो चेकपोइन्टहरूमा लैङ्गिक–तटस्थ स्क्रीनिंग लागू गर्ने, चेकपोइन्ट स्क्रिनिङबाट लिङ्ग पहिचान हटाउने र यसको आवेदनमा (x) लिङ्ग चिन्ह समावेश गर्न प्रक्रिया अघि बढेको जनाएको छ।
स्वास्थ्य तथा मानव सेवा विभागले ट्रान्सजेन्डर र एलजीबिटीक्युआईका युवाहरु, उनीहरूका अभिभावकहरू र प्रदायकहरूका लागि स्रोतहरू प्रदान गर्ने नयाँ वेबसाइटहरु पनि जारी गरेको जनाएको छ। त्यस्तै ह्वाइट हाउसले अन्य सम्बन्धित निकायहरूले यौन झुकाव र लैङ्गिक पहिचान डेटाको सङ्कलन र प्रयोग विस्तार गर्न नयाँ कार्यहरू घोषणा गर्ने पनि जनाएको छ। ह्वाइट हाउसका अनुसार, 'हरेक अमेरिकी आफ्नो पहिचान खुलाउन स्वतन्त्र छन्। तर, धेरै ट्रान्सजेन्डर अमेरिकीहरूले अझै पनि प्रणालीगत बाधाहरू, भेदभाव र हिंसात्मक कार्यहरूको सामना गर्ने गरेका छन्।'
चैत १८, २०७८ शुक्रबार १६:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।