सञ्चार संस्थामा कांग्रेस र माओवादीबिच भागबन्डा, गोरखापत्रमा ऐरी, न्यूनतममा खड्का

काठमाडौँ : सञ्चार मन्त्रालय अन्तर्गतको २ स्थानमा सत्ता गठबन्धन दलमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रले भागबन्डा गर्दै नियुक्ति गरेको छ। सरकारी प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले शुक्रवार सार्वजनिक गरेको निर्णय अनुसार न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा माओवादी कोटामा सङ्गीता खड्का र गोरखापत्र संस्थाको महाप्रबन्धकमा लालबहादुर ऐरी कांग्रेसको कोटामा नियुक्त गरेको हो।
प्रतिस्पर्धाको आधारमा दुवै निकायमा नियुक्तिका लागि मन्त्रालयले छनौट समिति गठन गरेर तीन-तीन जनाको नाम सिफारिस गरेको थियो। कांग्रेसले दुवै स्थानमा आफू निकटलाई नियुक्ति गर्ने प्रयास गरेको थियो।
तर माओवादीले दुईमध्ये एकमा आफ्नो समर्थक चाहिने भन्दै दाबी गरेपछि न्यूनतम माओवादीलाई दिएर कांग्रेसले गोरखापत्र संस्थान लिएको थियो। ऐरी कान्तिपुर टेलिभिजनमा आवद्ध थिए भने उनी कांग्रेस निकट नेपाल प्रेस युनियनको सुदूरपश्चिम संयोजक थिए। नेपाल पत्रकार महासंघकी पूर्वसचिव समेत रहेकी खड्का माओवादीको प्रेस सेन्टरसँग आबद्ध छिन्।
चैत १८, २०७८ शुक्रबार १६:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।