साहित्य, कला र संस्कृतिको संरक्षण गरिनुपर्छ : मुख्यमन्त्री राई

साहित्य, कला र संस्कृतिको संरक्षण गरिनुपर्छ : मुख्यमन्त्री राई
फाइल तस्बिर

मोरङः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कृति लोप हुनबाट जोगाउनुपर्ने बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान र विराट साहित्य सङ्गमले आयोजना गरेको प्रदेशस्तरीय वृहत् वाङ्मय सङ्गोष्ठीको आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका हुन्।

“यस क्षेत्रमा किराँतको लामो इतिहास र सभ्यता रहेको छ”, उनले भने, “भाषा, साहित्य र संस्कृतिको खोज एवं अनुसन्धान हुनुपर्छ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, रामबाबु दाहाल, हेमराज पौडेल र रामरिझन यादवले पनि आ-आफ्नो धारणा राखेका थिए। शनिबारसम्म चल्ने गोष्ठीमा सुनसरी, मोरङ र झापाका कवि, साहित्यकार, लेखक, संस्कृतिविद्, समालोचकको सहभागिता छ।

चैत १८, २०७८ शुक्रबार १३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।