तीन दिने भारत भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा, जनकपुर-जयनगर रेल उद्घाटन गरिने

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा आज भारततर्फ जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी तीन दिने भारत भ्रमणमा जान लागेका हुन्।
देउवाको साथमा श्रीमती आरजु राणा, क्याबिनेटका चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधिमण्डल हुनेछ।
गत असार २९ मा पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो औपचारिक भारत भ्रमण हो। प्रधानमन्त्री देउवा आज दिउँसो २:५० मा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेछन्।
उनको बसोबासको व्यवस्था चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा गरिएको छ। यही उनको भेट भारतीय विदेशमन्त्री एस जयशंकरसँग हुनेछ।
शुक्रबार राति नयाँदिल्लीस्थित नेपाली राजदूतावासले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछ। देउवा त्यहाँ पनि उपस्थित हुनेछन्।
शनिबार भने देउवाको भेट भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुनेछ। शनिबार भारतीय समयअनुसार दिउँसो ११:१० मा हैदरावाद हाउसमा देउवा-मोदी भेट हुनेछ। लगत्तै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक समेत बस्नेछ।
बैठकपछि दुई देशबीचको केही सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। सोही समारोहमै देउवा-मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट जनकपुर–जयनगर रेल सेवा र सोलु करिडोर विद्युत प्रसारण लाइनको उद्घाटन गर्नेछन्।
यताको कार्यक्रमलगत्तै देउवाले अपराह्न ४ः३० मा भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्।
दिल्लीमा राजनीतिक भेटवार्ताका साथै देउवाले भारत उत्तर प्रदेशको वाराणसी पनि भ्रमण गर्नेछन्। भ्रमणको तेस्रो दिन वाराणसी पुगेर त्यहाँबाट पुनः नयाँदिल्ली आई सोही दिन उनी ४ः१५ बजे नेपाल फर्कनेछन्।
चैत १८, २०७८ शुक्रबार ०८:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।