अछाम बलात्कारको आदेश : कानुन अनुसार तीन महिना कैद, तर न्यायाधीशले तोकिदिए साढे तीन वर्ष कैद

अछाम बलात्कारको आदेश : कानुन अनुसार तीन महिना कैद, तर न्यायाधीशले तोकिदिए साढे तीन वर्ष कैद

काठमाडौँ : जिल्ला अदालत अछामले झुटो बकपत्र दिएर फसाउने प्रयास गरेको भन्दै एक किशोरीलाई साढे ३ वर्ष कैद सजाय सुनाउन उल्लेख गरेको दफामा ३ महिना मात्रै कैद गर्न पाउने प्रावधान रहेको देखिएको छ।

जिल्ला न्यायाधीश नवीनकुमार जोशीले २०७८ फागुन १० मा दर्ता भएर चैत १३ गते गरेको फैसलामा जाहेरीमा जवर्जस्ती करणी गरेको भनिएको तर अदालतमा बकपत्र गर्दा सहमतिमै गरेको तर विवाह नगर्ने भयले बलात्कारको झूटो जाहेरी दिएको बयान दिएको भन्दै १८ वर्ष पार गरेकी किशोरीलाई साढे तीन वर्ष कैद सजाय सुनाएका थिए।

उनले कैद सजाय तोक्दा मुलुकी फौजदारी कार्यविधि संहिता-२०७४ को दफा ४४ को उपदफा २ को (क१) बमोजिम तीन वर्ष ६ महिना कैद ठहर्ने फैसलामा उल्लेख गरेका छन्। उनले किशोरीलाई दोषी ठहर गर्न जाहेरी, प्रहरीमा गरेको बयान र अदालतमा गरेको बकपत्रमा फरक देखिएको भन्नेलाई आधार बनाएको फैसलामा देखिन्छ।

उनले उल्लेख गरेको कार्यविधिमा सो दफाको उपदफा नै छैन। (क) मा तीन महिनासम्म कैद र पाँच हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ। तर फैसलामा अङ्क र अक्षर दुबैमा तीन वर्ष ६ महिना कैद हुने ठहर्ने उल्लेख छ। न्यायाधीशले अध्यादेशमा भएको संशोधन टेकेर (क१) उल्लेख गरेको देखिन्छ। तर सो अध्यादेश निस्क्रिय भइसकेको छ।

 विवाहका लागि घरमा आएका केटा र केटी एकै कोठामा सुतेको, केटी र बहिनी खाटमा सुतेको र केटा भुईँमा सुतेको अवस्थामा बेलुका केटाले जवर्जस्ती तानेर बलात्कार गरेको जाहेरी परेको थियो। सोही जाहेरीको आधारमा आरोपीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउँदा उनले सहमतिमै सम्बन्ध भएको दाबी गरेका थिए।

पछि अदालतमा केटीले पनि बयान बदल्दै सहमतिमै सम्बन्ध भएको तर विवाह गरौँ भन्दा जुठो परेकाले उमेर पुगेपछि विवाह गरौँ भनेपछि विवाह नगर्ला भन्ने रिसले बलात्कार भएको जाहेरी दिएको उल्लेख छ। बहिनीले प्रहरीमा दिदीले बेलुका ममी-ममी भनेको र उठेर हेर्दा रोइरहेको बयान दिएकी थिइन्। उनले पनि अदालतमा बयान गर्दा आफू निदाएकाले केही थाहा नपाएको र सो बयानबारे जानकारी नभएको दाबी गरेकी थिइन्।

पहिला बलात्कारको जाहेरी दिएर अदालतमा बयान बदल्दा १९ वर्षकी किशोरीलाई जेल

चैत १७, २०७८ बिहीबार २२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।