रमेश खरेल काठमाडौँकै मतदाता, नयाँबानेश्वर मतदान केन्द्र

रमेश खरेल काठमाडौँकै मतदाता, नयाँबानेश्वर मतदान केन्द्र

काठमाडौँ : नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल काठमाडौँ महानगरपालिकाको मतदाता रहेको खुलेको छ। नेपाल सुशासन पार्टीमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनेबारे पार्टीमा छलफल भइरहेको उनले पुष्टि गरेपछि उनी काभ्रेको मतदाता हुन् या काठमाडौँको भन्ने बहस सुरु भएको थियो।

काभ्रे खरेलथोक पुस्तौती ठेगाना रहे पनि उनी काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ को मतदाता रहेको पुष्टि भएको छ। काभ्रेको पाँचखाल वडा नम्बर ११ मा समेत रमेश खरेलको नाम फेला परेपछि उनको मतदाता नामावली काभ्रेमा हो या काठमाडौँमा भन्ने अन्योल बढाएको थियो।

निर्वाचन आयोगले तोकेको उम्मेदवारको मापदण्डमा जहाँ मतदाता सूचीमा नाम छ त्यहीको स्थानीय तहमा मात्र उम्मेदवार बन्न पाउने उल्लेख छ। उकेराले बिहीबार यसबारे खरेलसँग जिज्ञासा राख्दा आफूले काठमाडौँ नयाँबानेश्वरमा मतदान गर्दै आएको जानकारी दिएका थिए।

उनको जानकारीका आधारमा निर्वाचन आयोगमा रहेको मतदाता नामावली सर्च गर्दा उनी र उनको श्रीमतीको नाम वडा नम्बर ३१ को छुनामुना कमलनेत्र स्कुल नयाँबानेश्वमा फेला परेको छ। उनको नाम मतदाता क्रमसङ्ख्या १२६७ रहेको छ भने उनको श्रीमतीको १२४१ मा नाम रहेको छ।

यस अगाडि काभ्रेको मतदाता नामावली सर्च गर्दा रमेश खरेल नाम गरेका मतदाता पाँचखाल वडा नम्बर ११ मा समेत देखिएका थिए। सोही आधारमा उकेरामा सम्प्रेषित समाचार गलत भएकाले क्षमा याचनासहित सच्याइएको समेत जानकारी गराउँछौँ।

चैत १७, २०७८ बिहीबार १८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।