त्रिकोणात्मक टि-२० : लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा प्रवेश

काठमाडौँ : त्रिकोणात्मक टि–२० अन्तरराष्ट्रिय क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ। बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पिएनजीविरुद्धको दोस्रो खेलमा ३७ रनको जित निकाल्दै नेपाल एक खेल अघि नै फाइनलमा स्थान पक्का गरेको हो।
नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो। नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पिएनजी दुई बल बाँकी छँदै १६६ रनमा समेटियो।
पिएनजीका चार्ल्स अमिनीले ९ चौकासहित सर्वाधिक ६२ रनको योगदान गरे। टोनी उराले ४३ रन जोडे भने सेसे बाउ २५ र नोर्मान भनुआ १७ रनमा आउट भए। लेगा साएका र कप्तान असद भाला एक–एक रनमा आउट भए।
नेपालका करण केसीले ह्याट्रिकसहित ५ विकेट लिए। उनले अन्तिम ओभरमा ह्याट्रिक गरे। सोमपाल कामी र अविनाश बोहोराले २–२ र सन्दीप लामिछानेले एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । नेपालका दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले ३३ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा ६६ रन बनाएका हुन्। अन्तर्राष्ट्रिय टि(२० मा उनको यो चौथो अर्धशतक हो।
रोहित पौडेलले २३ बलमा ४१ रनको योगदान गरे। उनले २ छक्का र ४ चौका प्रहार गरे। २९ बल खेलेका आसिफ शेखले ४ चौका र १ छक्काको सहयोगमा ३८ रन जोडे। बिस्फोटक ब्याटिङ गरेका मोहम्मद अदिल आलमले ११ बलमा ३१ रन बनाए। उनले ३ छक्का र १ चौका प्रहार गरे। कुशल भुर्तेलले १७ र करण केसीले एक रन बनाउँदा आरिफ शेख २ रनमा अविजित रहे । नेपालले अन्तिम ओभरमा ३ विकेट गुमाएको थियो।
तीन जित निकालेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। अहिलेसम्म खेलेका तीन वटै खेल हारेको पिएनजीको फाइनल प्रवेशको संभावना अत्यन्तै न्यून छ।
दुई खेल खेल्न बाँकी रहेको मलेसिया २ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। मलेसियाले तेस्रो खेलमा शुक्रबार पिएनजी र शनिबार नेपालसँग प्रतिष्पर्धा गर्नेछ। अंक तालिकाको पहिलो र दोस्रो हुने टिमबीच सोमबार फाइनल खेल हुनेछ।
चैत १७, २०७८ बिहीबार १६:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।