निर्वाचन परिचालन समिति चार तहमा बनाउने कांग्रेसको तयारी 

निर्वाचन परिचालन समिति चार तहमा बनाउने कांग्रेसको तयारी 

काठमाडौं : नेपाली कांग्रेसले चार तहमा निर्वाचन परिचालन समिति बनाउने तयारी गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बुधबार बसेको बैठकमा चार तहमा निर्वाचन परिचालन समिति बनाउने विषयमा छलफल भएको हो। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सातै प्रदेशका सभापतिहरूसँग बसेको समितिको बैठकमा निर्वाचन परिचालन समिति तल्ला तहमा पनि बनाउनुपर्ने प्रदेश सभापतिहरूले सुझाव दिएका छन्। १६५ निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश तह र केन्द्रीय गरी ४ तहमा समिति बनाउने सुझाव दिइएको हो। 

लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनका अनुसार संसदीय समिति भएको संरचनामा निर्वाचन परिचालन समिति बनाउन प्रदेश सभापतिहरूले समिति संयोजक तथा पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई सुझाव दिएका छन्। 

हामीले संसदीय समिति भएका तहमा परिचालन समिति बनाउनुपर्ने भनेका छौं। समितिले त्यसै गर्छ होला,उनले भने। बैठकमा चुनावी गठबन्धनका लागि वडा तहसम्म मतभारको अध्ययन गर्ने गरी छलफल भएको पनि उनले बताए।

चैत १६, २०७८ बुधबार २०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।