सुन्दरीजल टिपर दुर्घटनाः ४५ लाख दिने सहमतिपछि उठ्यो दिदीबहिनीको शव 

सुन्दरीजल टिपर दुर्घटनाः ४५ लाख दिने सहमतिपछि उठ्यो दिदीबहिनीको शव 

काठमाडौँ : टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएको झण्डै १० घण्टापछि दुई दिदीबहिनी शव उठेको छ। गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा बुधबार बिहान बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत सृष्टि र श्रेया घिसिङको मृत्यु भएको थियो। उनीहरूका बुबा रोहन घिसिङ घाइते भएका थिए। उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।

दिउँसो स्थानीय प्रशासनको रोहवरमा आफन्त र टिपर कम्पनीसँगको छलफलपछि शव उठाइएको हो। टिपर कम्पनीले मृतकका परिवारलाई ४५ लाख रुपैयाँ दिने सहमति भएको छ। त्यस्तै घाइतेको उपचार पनि टिपर कम्पनीले नै गर्ने सहमति भएको हो। 

सहमतिपछि दुवै बालिका दिदीबहिनीको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ।  ठक्कर दिने टिपर कम्पनी सुन्दरी माई वासिङले ४५ लाख रुपैयाँ क्षतिपूर्ति र घाइते रोहन तामाङको उपचार गर्ने सहमति भएको छ।  

त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले पीडित परिवारका एक जनालाई नगरपालिकामा रोजगारी दिने र नगरपालिकाबाट समेत केही रकम उपलब्ध गराउने सहमति भएको छ।

गम्भीर घाइते रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ। घटनापछि आक्रोशित स्थानीय र आफन्तले टिपरमा आगजनी गरेका थिए । मेलम्ची चोकको स्थानीयले प्रदर्शन समेत गरेका थिए। स्थिति नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।  

चैत १६, २०७८ बुधबार १९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।