विवादित धर्मगुरु र छुद्र अभियन्ताले तानेको राप्रपाको हलो

इटहरी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा निर्वाचित भएसँगै राजेन्द्र लिङ्देनले देशव्यापी अभियान सुरु गरेका छन्। गत मंसिरमा सम्पन्न महाधिवेशनबाट लामो समय नेतृत्वमा रहेका कमल थापा पराजित गर्दै लिङ्देन राप्रपाको अध्यक्ष चुनिएका थिए।
परिवर्तनको पक्षमा मत मागेका लिङ्देनले थापाकै कारण राप्रपा चलायमान बन्न नसकेको आरोप लगाएका थिए। सोही आरोपलाई पुष्टिगर्न उनी अहिले देशैभर कार्यक्रम गरिरहेका छन्।
उता अध्यक्षमा पराजित थापाले भने राप्रपा नेपाल नामको नयाँ पार्टी खोलेका छन्। पहिला पनि सोही नामको पार्टीको अध्यक्ष रहेका थापाले लिङ्देनको नेतृत्व स्वीकार गर्न मानेनन्।
आफूलाई असहयोग गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोशित थापा पनि देशव्यापी अभियानमै छन्। राजा सहितको हिन्दु राज्यलाई मुल मुद्दा बनाएको राप्रपासँग राजा विनाको हिन्दु राज्यको मुद्दा बोकेको राप्रपा नेपाल प्रतिस्पर्धा गर्न खोजिरहेको छ।
राप्रपा अध्यक्ष लिङ्देनले भने अभियानलाई प्रभावकारी बनाउन नयाँ रणनीति अपनाएका छन्। बजारमा चल्तीका अभियन्तालाई पार्टी प्रवेश गराएर उनले अभियान अगाडि बढाएका हुन्। अभिनेतृ रेखा थापादेखि अभियन्ता ज्ञानेन्द्र शाहीसम्म लिङ्देनको यात्रामा छन्।
एमाले र कांग्रेसका हिन्दु पक्षधर र एमसिसी विरोधी भोट ल्याउने रणनीतिमा छ राप्रपा। पछिल्लो समय भ्रष्टाचार विरोधी अभियानलाई पार्टीको मुल मुद्दा बनाएको छ राप्रपाले। ‘भ्रष्टाचार गर्नु आमाको खुन खाए बराबर’ भएको भन्दै नेताहरु भावनात्मक माहोल बनाइरहेका छन्।
धर्मगुरु र अभियन्ताले तानेको हलो
अभियानकै क्रममा यही चैत ७ गते सोमबार सुनसरीको बराह क्षेत्रमा राप्रपाले जनसभाको आयोजना गरेको थियो। कार्यक्रममा प्रमुख आकर्षक थिए, राप्रपाका प्रवक्ता समेत रहेका अभियन्ता ज्ञानेन्द्र शाही र धर्मगुरु श्रीनिवाशाचार्य। कार्यक्रममा सम्बोधन गर्न पुगेका धर्मगुरुले आफू सत्यको पक्षमा लागेको भन्दै भाषण सुरु गरे।
आक्रोशित हुँदै उनले वर्तमान व्यवस्था र नेतृत्वप्रति तल्लो स्तरको गाली गरे। नेताहरु गद्दार र पापी भएको भन्दै उनले अब धर्मको रक्षाको लागि लाग्न आग्रह गरेका थिए। अन्य धर्मगुरुले जस्तो धर्मनिरपेक्षता मान्ने नेतालाई भोट नमाग्ने भन्दै उनले हिन्दु धर्मको पक्षमा भोट मागे। धर्म निरपेक्ष हुनुपर्छ भन्ने र एमसिसी ल्याउनुपर्छ भन्नेलाई पाप लाग्ने आरोप उनले लगाए।
धर्मगुरु श्रीनिवाशाचार्यले २०७४ चैत २५ गते आफ्नो पाखुरामा गोली हान्न लगाएका थिए। धार्मिक माहोल भड्काउन आफंैले ‘मंगोल नेसनल अर्गनाइजेसन आर्मी’को प्रचारमा भारतीय दलाललाई ठिक पार्ने भन्दै भ्रम फैलाउने कोशिस गरे। भारतीय सत्ता धर्मगुरुसँग निकट रहनलाई उनले गरेको कर्तुत केही दिनमै पर्दाफास भयो।
पछि २०७५ वैशाख २४ गते उनी काठमाडौंबाट पक्राउ परे। आफैंले गोली हान्न लगाएको प्रमाणित भएपछि उनलाई हातहतियार तथा खरखजानामा मुद्दा चलाइयो। बन्दी प्रत्यक्षीकरण रिटमा जिल्ला अदालत मोरङमा भएको बहसपछि उनी ५ हजार धरौटीमा रिहा भए। २१ दिन झुम्का कारागारका बिताएका उनी २०७५ असार ८ गते रिहा भएका थिए।
सुनसरीको बराहक्षेत्र– ६, चक्रघट्टीमा आश्रम बनाएर बस्दै आएका उनी यसअघि पनि विवादमा आएका थिए। २०७२ साल साउनमा इटहरी पुगेका उनले संविधानको मस्यौदा जलाएर आन्दोलन चर्काएका थिए।
संविधानमा धर्मनिरपेक्षता उल्लेख भएको भन्दै हिन्दुराज्य कायम गर्न आन्दोलनको नेतृत्व गरेका उनले महिलालाई उचालेर आन्दोलन गर्न लगाए।
साउन ११ गते प्रहरीमाथि नै आक्रमण गरेका उनले तत्कालीन डिएसपी विनोद शर्मा विरुद्ध नाराबाजी गरेका थिए। लामो समय गुमनाम रहेका धर्मगुरु आचार्य अहिले पुनः सक्रिय भएका छन्। धर्मको आडमा राजनीतिक शक्तिमा पुग्ने होडमा रहेका उनी माहोल भड्काउने काममा लागेका छन्।
उता गलत प्रचारमै रमाउने प्रवक्ता शाही पनि उनकै शैलीमा देखिएका छन्। वर्तमान व्यवस्था र नेतृत्वलाई गाली गरेरै चर्चामा आएका शाही २०७६ जेठमा साइबर अपराधको आरोपमा सुर्खेतबाट पक्राउ परेका थिए। पछि योगेश भट्टराई सवार हवाइजहाजमा यात्रु कुराएको भन्दै उनी चर्चामा आए।
२०७८ जेठ २८ गते सुर्खेतको वीरेन्द्रनगर पुगेका शाही मदिरा सेवन गरी हल्ला गरेको आरोपमा पक्राउ परे। लकडाउनको समयमा मदिरा सेवन गरी हल्ला गर्दै हिँडेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। यसअघि गलत प्रचार गरेको भन्दै २०७६ असोजमा चितवन चौबीसकोठीमा युवाहरुले आक्रमण गरेका थिए।
निकै अराजक शैलीमा भाषण गर्ने शाहीले भ्रष्टाचारको विरोध गरेर लोकप्रियता कमाएका छन्। गाली गरेकै भरमा युट्युबमा छाएका उनको लागि राप्रपा राजनीतिक यात्राको राजमार्ग सावित भएको छ।
यसअघि राजवादी संस्था ‘हामी नेपाली हाम्रो नेपाल’मा आवद्ध भएका शाही २०७६ मंसिर ११ मा अभियानबाट निष्काशित भएका थिए।
पालिकाको बेरुजुलाई व्याख्या गर्दै हिँडेका शाहीले पनि भ्रष्टाचार र एमसिसीको खुलेर विरोध गरेका छन्। विषयवस्तुप्रति खासै ज्ञान नभए पनि गलत कुरालाई नै सही भनेर उनले जनतालाई बुझाएका हुन्। अहिले पनि चर्को स्वरमा भाषण गर्ने शाही अराजनीतिक भाषणले जनता उचाल्ने गर्छन्।
राप्रपाले छानेका अर्का अभियन्ता रविन्द्र मिश्र पनि राजनीतिमा अस्थिर देखिएका छन्। वैकल्पिक राजनीतिको उदाहरण दिँदै बिबिसी नेपाली सेवाको जागिर छाडेर राजनीतिमा आएका उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट पराजित भएका व्यक्ति हुन्।
देशमा नयाँशक्तिको खाँचो भएको भन्दै साझा पार्टी गठन गरेका उनले पछि उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलसँग एकता गरी साझा–विवेकशीलको संयोजक भए।
एक वर्षमै २०७६ पुस २७ मा पार्टी विभाजनमा पर्यो। मिश्रले एकलौटी पार्टी सञ्चालन गरेको भन्दै थापा समूहले पार्टीबाट अलग रहने घोषणा गरे।
पछि एकता गरेको पार्टी दोस्रो पटक पनि विभाजन भयो। हाल विवेकशील पार्टीको अध्यक्ष मिलन पाण्डे छन् भने साझाको नेतृत्व उनै मिश्रले गर्दै आएका छन्।
राजनीतिक रुपमा अस्थिर देखिएका मिश्र पछिल्लो समय राप्रपासँग एकताको प्रक्रियामा छन्। नेपालमा कन्जर्भेटिभ मत बलियो देखिएकाले उनले त्यसैको सहारामा राजनीतिलाई अगाडि बढाउन खोजेको देखीन्छ।
राजनीतिक शुद्धीकरण अभियानमा लागेको दावी गरिएको पार्टी राप्रपाका अभियन्ताहरु भने दूषित पृष्ठभूमिका देखिएका छन्।
चैत १६, २०७८ बुधबार ०६:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।