गठबन्धन सरकारको निशाना भूमि आयोगप्रति छ, लालपुर्जा दिन खोज्दा प्रहार गरे: ओली

‘भूमिहीनलाई लालपुर्जाको व्यवस्थापनको अन्तिम तयारी भइरहेको बेला गठबन्धन सरकारले आयोग नै खारेज गरेर तयारी अवस्थामा बनाएको काम रोके, तर अहिले भन्दैछन्- अघिल्लो सरकारले फाइल लुकायो भनेर’, ओलीले भने, ‘सायद केही साथीहरू त्यही फाइल खोज्न शुक्रबार दिल्ली जाँदैछन् भन्ने सूचना आएको छ, चुनावका बेला त्यस्ता झुट कुरा लिएर आउलान् चुनावमा ख्याल गर्नुस्।’
राजनीतिक कुराभन्दा बढी स्वास्थ्य र पर्यटनका भाषण गरेका ओलीले शरीर स्वच्छ राख्न भान्सालाई आयुर्वेदिक औषाधालय बनाउनुपर्नेमा जोड दिए। उनले विषादिरहित स्वच्छ खानपान भएमा भान्सा नै औषधालय हुने बताए।
‘बाटो, सडक, पुल मात्र बनाएर के गर्ने? राम्रो खानपिन छैन भने त्यो बाटोमा हिँड्नै नपाई मृत्यु हुन्छ। त्यसैले विषादिरहित स्वच्छ खानपानमा ध्यान दिऔं’, उनले भने।
साथै उनले आफूलाई आवश्यक खाद्यान्न आफैँ उत्पादन गर्नुपर्ने बताए। ‘खाद्यान्नमा आत्मनिर्भर भएमा विश्वमा हुने कुनै संकटले बाहिर छोए पनि भित्र छुन सक्दैन। त्यसैले आफू आत्मनिर्भर पनि बनौं’, उनले भने।
चैत १५, २०७८ मंगलबार १४:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।