धरहरापछिकै अग्लो र सुविधासम्पन्न तिलोत्तमाको बहुउद्देश्यीय टावर उद्घाटन

धरहरापछिकै अग्लो र सुविधासम्पन्न तिलोत्तमाको बहुउद्देश्यीय टावर उद्घाटन

रुपन्देहीः जिल्लाको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)मा निर्माण भएको बहुउद्देश्यीय टावरको उद्घाटन गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले टावरको उद्घाटन गरेका हुन्।

१० तले टावर एक सय ३४ फिट उचाइको छ। तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण भएको टावर आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का सम्झौता भएको थियो।

२०७२ सालको भूकम्पमा ढलेको काठमाडौंको धरहरापछिको अग्लो र सुविधासम्पन्न भनिएको टावरको भुईंतला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ। कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको टावरको पहिलोदेखि छैटौं तलासम्म व्यावसायिक प्रयोजनमा प्रयोग हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ।

तिलोत्तमा नगरपालिकाका इञ्जिनियर प्रदीप वनले कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण भएको टावर प्राकृतिक निर्माण सेवाले बनाएको बताए। लिफ्ट सुविधासहित बनेको टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च रुम, डिपार्टमेन्ट स्टोर, अफिस रुम, एटेज ट्वाइलेटसहित बस्न मिल्ने वातानुकूलित कोठा, लाइब्रेरी लगायतका संरचनाहरू बनाइएको छ।

टावरसँगै २ बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू अहिले बनिरहेका छन्। टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडि म्युजिकल फाउन्टेन निर्माण भइरहेको छ।

चाइल्ड पार्क र स्टेडिएम निर्माणको काम पनि सुरु भइसकेको छ। गत चैतमा केएच प्रशान्त जेभीसँग साढे ४ करोडको ठेक्कामा बाँकी कामका लागि सम्झौता भएको उनले बताए। बाँकी संरचना निर्माण पनि अबको २ वर्षमा सम्पन्न हुने उनको भनाइ छ।

टावर निर्माणको कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले व्यहोरेको छ।

भ्यू टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिनेछ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका शहरहरू देख्न सकिनेछ।

चैत १५, २०७८ मंगलबार ११:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।