नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौंः नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले सोमबार हस्ताक्षर गरेसँगै नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो।
योसँगै नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ।
दुवै राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्त पत्रमा पनि हस्ताक्षर गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।
दुवै राजदूतले राष्ट्रिय तथा बहुपक्षीय परिवेशमा विशेषगरी संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा दुई देशको आपसी हितका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार आदान–प्रदान गरेका थिए। उनीहरूले दक्षिण सुडानमा चलिरहेको शान्ति प्रक्रियाको सन्दर्भमा द्वन्द्वबाट शान्तितर्फको सङ्क्रमणकाललाई कसरी सफल बनाउन सकिन्छ भन्नेबारे पनि छलफल गरेका थिए।
त्यसक्रममा राईले दक्षिण सुडानमा शान्ति स्थापना गर्न स्वदेशमा भएको शान्ति प्रक्रियामा आफ्नो अनुभव साझा गर्न नेपाल इच्छुक रहेको बताएका थिए।
नेपालले एक हजार ८०० नेपाली शान्ति सैनिक तैनाथ गरी दक्षिण सुडानको शान्ति र स्थायित्वका लागि योगदान पुर्याउँदै आएको छ।
पूर्वी–मध्य अफ्रिकामा अवस्थित दक्षिण सुडान ९ जुलाई २०११ मा सुडानबाट स्वतन्त्र भएको हो। नेपाल र दक्षिण सुडान दुवै अल्पविकसित देशहरूको समूह साथै भूपरिवेष्टित विकासशील देशहरूको समूह हुन्।
दक्षिण सुडान १४ जुलाई २०११ मा संयुक्त राष्ट्रसङ्घको १९३औं सदस्यका रूपमा सामेल भएको उक्त विश्व सङ्गठनको कान्छो सदस्य देश हो।
चैत १५, २०७८ मंगलबार ०८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।