लेटाङ घटना : महिला प्रहरी हत्याको आरोपमा २० जना पक्राउ

इटहरी : मोरङको लेटाङमा महिला प्रहरीको हत्या आरोपमा २० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यfलय मोरङको टोलीले एक जना महिलासहित २० जनffलाई पक्राउ गरेको हो।
घटनाको पहिलो दिनदेखि नै अनुसन्धान सुरु गरेको प्रहरीले पहिलो चरणमा ९ जनालाई पक्राउ गरेको थियो। सोमबारसम्ममा थप ११ जनालाई जिल्ला अदालत मोरङमा ‘कर्तव्य ज्यान मुद्दामा’ म्याद थप गरी अनुसन्धान सुरू भएको छ।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका- ५ का ४८ वर्षीय चन्द्रकान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, १८ वर्षका सुरज अधिकारी, वर्षीय पालाराम राई, राम राई, सन्तोष पौडेल, निशा पुलामी मगर, २० वर्षीय हिमाल श्रेष्ठ, २३ वर्षीय प्रदीप राई, १९ वर्षीय सञ्जय मगर रहेका छन्।
यस्तै मिक्लाजुङ गाउँपालिकाका २० वर्षीय कृष्ण विक सहित सञ्जीव प्रधान, प्रनिष कट्टेल, झविन भन्ने जस्विन पाख्रिन, सुनिल लिम्बु, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ र श्रवण यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
घटनाको सूक्ष्म अनुसन्धान गर्दै हत्यामा संलग्नलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले बताए। हालसम्म २० जना पक्राउ परेको र अन्यको पनि अनुसन्धान भइरहेको उनको भनाइ छ।
महिला प्रहरीको ज्यानै जाने गरी भएको लेटाङ घटनाको अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन भएको छ।
यस घटनाको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले पाँच सदस्यीय छानविन समिति गठन गरेर छानविन पनि सुरु गरेको छ।
चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा सशस्त्र प्रहरी बलमा कार्यरत प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो। शिक्षा विकास माविका शिक्षकले १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको घटना बाहिर आएपछि विद्यार्थी तथा अभिभावक आन्दोलित भएका थिए। आन्दोलन आक्रामक बन्दै गएपछि प्रहरी परिचालन गर्नुपरेको थियो।
आरोपित मनोज पौडेललाई पक्राउ गरी प्रहरी कार्यालय लैजाने क्रममा सशस्त्र प्रहरी बल विराटनगरबाट खटिएकी श्रेष्ठमाथि आक्रमण भएको थियो। साँझको समयमा विद्यालयदेखि एक किलोमिटर टाढा उनीमाथि आक्रमण भएको हो। आक्रमणपछि घाइते भएकी उनको उपचार गर्न लौजाने क्रममा बाटोमै निधन भएको थियो।
चैत १४, २०७८ सोमबार १७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।