एनआरएनमा रमिता : तीन अध्यक्ष, ११ उपाध्यक्ष, १० सचिव,२ कोषाध्यक्ष

काठमाडौँ : विवादका बिच उपेन्द्र महतो समूहको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन सकिएको छ। सहमति जुटाउन तीन अध्यक्ष, ११ उपाध्यक्ष र १० सचिव चयन गरेर महतो समूहको सम्मेलन सकियो।
हरेक वर्ष सोल्टी होटलमा भव्य समारोहमा महाधिवेशन गर्दै आएको एनआरएनको यो पाली सानो-सानो समूहमा महाधिवेशन भयो। विदेशको सीप र पुँजी नेपालमा लगानी भन्ने दाबी गरे पनि एनआरएन सङ्गठनलाई सत्तासँग सम्बन्ध र व्यापार विस्तारमा केन्द्रित भएपछि सङ्गठन विवादित बनेको छ।
पूर्व अध्यक्षहरूको स्वार्थले एनआरएन यो पाली विभाजित हुनबाट रोकिएन। सधैँ राजनीतिक आडमा सङ्गठनको नेतृत्व गरिरहे पनि स्वतन्त्र देखिने गैर आवासीय नेपाली सङ्घका नेताहरू १० औँ अधिवेशनमा भने एक्सपोज भएका छन्।
नेपालमा नेपाली कांग्रेस निकट जीवा लामिछाने ९ औँ महाधिवेशनमा व्यापारिक स्वार्थ पूरा गर्न क्याम्प बदल्नु नै एनआरएन सङ्गठनको लागि दुर्भाग्य बन्यो। तत्कालीन नेकपाको समर्थनमा कुमार पन्त अध्यक्ष बन्नु नै एनआरएनको अधोगतिको कारक देखियो।
भवन भट्टको कार्यकालमा सुरु भएको सङ्गठन खस्कने क्रम यो पटक जिबा र शेष घलेको प्रतिस्पर्धाले विभाजितसँगै कमजोर समेत बन्यो। हरेक महाधिवेशनमा राजनीतिक रूपमा नेतृत्व चयन भए पनि स्वतन्त्र उम्मेदवारको छवि बनाउन सफल भएका थिए। यो पटक भने को कुन कित्तामा छरपस्ट भयो।
पदका लोभी: ६-६ महिना नेतृत्व
घले समूहले पहिल्यै अधिवेशन सकाएर कार्यसमिति बनाए पनि यता उपेन्द्र महतो, जिबा लामिछाने र भवन भट्टको अगुवाइमा अर्को सम्मेलन गरियो। होटेल हिमालयनको सानो कोठामा भएको सम्मेलनले सङ्गठनको साख दाउँमा परे पनि एकल नेतृत्व चयन गर्न सकेन।
विवाद मिलाउने भन्दै उनीहरूले विधानमै नभएको तीन अध्यक्ष बनाए। अध्यक्षका कुनै प्रत्याशीले विधान विपरीत नेतृत्व चयन नगरौँ भन्न सकेनन्। जसले म पनि अध्यक्षको उम्मेदवार भन्यो उसको नाम पनि चयन गर्ने अवस्था बन्यो।
कुल आचार्य, रविना थापा र बद्री केसीले पालैपालो ६–६ महिना नेतृत्व सम्हाल्ने गरी अध्यक्ष चयनहुँदा म अर्को पटक नेतृत्व लिउँला कसैले भनेनन्। ६ महिने अध्यक्ष बन्न राजी भए। पहिला आचार्य र केसीबिच १-१ वर्षको पदावधि चयन गर्ने तयारी थियो। बिचमा थापाले पनि दाबी गरेपछि तीन अध्यक्ष बनाइयो।
अब पहिलो छ महिना आचार्य, त्यसपछि थापा र अन्तिममा केसी अध्यक्ष हुनेछन्।
११ जना उपाध्यक्षमा भूषण घिमिरे, डीबी क्षत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ, हेमराज शर्मा, जयप्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा चयन भए।
दुई महिला उपाध्यक्षमा विष्णुमाया परियार र यस्मिन बेगम चयन भए। युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चुनिए।
महासचिवमा गौरीराज जोशी र केशव पौडेल, उपमहासचिव गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी भए।
चिरञ्जीवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शङ्कर खड्का, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी सचिव भए। अलिनी पोखरेल र टीका गुरुङ महिला सचिव भए।
पद मिलाउन कोषाध्यक्षमा ३, सह कोषाध्यक्षमा ८, महिला सह कोषाध्यक्ष ३, प्रवक्ता २, महिला संयोजक, युवा संयोजक र क्षेत्रीय संयोजक २-२ जना चुनिए। क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५, क्षेत्रीय महिला संयोजक २, क्षेत्रीय युवा संयोजक २ चयन भए।
चैत १४, २०७८ सोमबार १४:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।