विद्युत सहकारी संस्थाको अध्यक्षमा कांग्रेसका जितबहादुर विजयी

विद्युत सहकारी संस्थाको अध्यक्षमा कांग्रेसका जितबहादुर विजयी

बुटवलः बुटवल- ११ स्थित प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर मल्ल विजयी भएका छन्। आइतबार भएको निर्वाचनमा कांग्रेस र एमालेले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए।

एमाले उम्मेदवार वीरबहादुर कुँवरलाई पराजित गर्दै मल्ल विजयी भएका हुन्।

कुल खसेको एक हजार ३२ मतमध्ये मल्लले ५१४ मत ल्याएर विजयी भए भने एमालेका कुँवरले ४७१ मत प्राप्त गरे।

स्थानीय राजनीतिमा अवसरवादीको छवि बनाएका मल्ल दुई वर्षअघि मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। सुकुम्बासी बस्तीमा अव्यवस्थित बस्ती बसाउन थालेपछि उनलाई पार्टीबाट कारबाहीको तयारी भइरहेका बेला उनी कांग्रेस प्रवेश गरेका थिए।

त्यस्तै दुवै प्यानलका उपाध्यक्ष पदका उम्मेदवारले समान ४८२ मत ल्याएका छन्। मल्ल प्यानलका राजकुमार तेली र कुँवर प्यानलका कैलाश खड्गीको समान मत आएको निर्वाचन अधिकृत महेन्द्र पाण्डेले बताए।

समान मत पाएका तेली र खड्गीबीच आपसी सहमतिपश्चात कसले नेतृत्त्व गर्ने भन्ने टुंगो लाग्नेछ। सचिवमा मल्ल प्यानलकै गोपाल केसी ४८३ मतसहित विजयी हुँदा एमालेका घनश्याम पाण्डेले ४७८ मत पाए।

कोषाध्यक्षमा मल्ल प्यानलका नारायण सारु ४९९ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी एमालेका कुलबहादुर रानाले ४६९ मत पाएको निर्वाचित अधिकृत पाण्डेले बताए।

९ जना कार्यसमिति सदस्य र लेखा समिति सञ्योजक र सदस्यसहित तीन जना पनि मल्ल प्यानलका विजयी भएको उनले बताए।

चैत १४, २०७८ सोमबार १२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।