पूर्वमन्त्रीसहित पाँच हजार कार्यकर्ता भित्र्याउन ओली रुपन्देही र कपिलवस्तु भ्रमणमा

बुटवलः एमाले अध्यक्ष केपी शर्मा ओली आज रुपन्देही आउँदैछन्। पार्टी प्रवेश कार्यक्रमका लागि ओली रुपन्देही आउन लागेका हुन्।
उनले कपिलवस्तुमा पनि पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। बिहानै भैरहवामा पार्टी प्रवेश गराएपछि उनी कपिलवस्तुको तौलिहवा पुग्ने नेकपा एमालेका केन्द्रीय सदस्य भूमिश्वर ढकालले जानकारी दिए।
दिउँसो हुने कपिलवस्तुको कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद वृजेशकुमार गुप्ता, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सांसद धर्मबहादुर लाल श्रीवास्तवसहित ५ हजारभन्दा धेरैलाई पार्टी प्रवेश गराउने तयारी रहेको एमाले कपिलवस्तुका नेता भेषराज पाण्डेले बताए।
कपिलवस्तु कार्यक्रम सकिपछि ओली बुटवल आउनेछन्। बुटवलमा एक रात बिताएर ओली १५ गते बिहान बुटवल र तिलोत्तमाका तीन वटा कार्यक्रममा सहभागी हुनेछन्।
तिलोत्तमास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन, ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना हुने भूपूसैनिक तथा प्रहरी संगठनको केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रम र दिउँसो लुम्बिनीमा वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी भएपछि ओली मंगलबार साँझ काठमाडौं फर्कने कार्यतालिका रहेको नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए।
चैत १४, २०७८ सोमबार ०८:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।