
निर्वाचन आयोगविरुद्ध एमाले आक्रामक : सत्ताधारीलाई सहयोग पुर्याएको आरोप

काठमाडौँ : मत पत्रको रङ हरियो बनाउने र मनोनयनका लागि २ दिने दिने निर्वाचन आयोगको निर्णय सत्तामा रहेका दललाई सहज बनाउन गरिएको एमालेले आक्षेप लगाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिल्यै आयोगको सो निर्णयको आलोचना गरिसकेका छन्। अध्यक्ष ओलीको आलोचनालाई पार्टीको स्थायी समितिको बैठकले समेत संस्थागत गरेको हो।
बैठकले पारित गरेको प्रस्तावमा वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मिति घोषणा भइसकेको र निर्वाचन तालिका समेत प्रकाशित भइसकेको अवस्थामा राजनीतिक दलसँग कुनै परामर्श नगरी र बिना कुनै औचित्य आयोगले मतपत्रको रङ परिवर्तन गर्ने र मनोनयनका लागि दुई दिनको समय दिने निर्णय गरेकोमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
प्रस्तावमा संवैधानिक निकाय आयोगको निर्णय सत्तारुढ दल विशेषलाई अनुकूल हुने गरी गरिएको भन्ने स्पष्ट रहेको भन्दै तत्काल सच्याउन माग गरेको छ।
ओलीले यस अगाडि नै मतपत्रको रङ्ग हरियो बनाउने निर्णय एक दललाई फाइदा पुग्ने गरी गरिएको आरोप लगाउँदै आएका थिए। उनले कांग्रेसको चुनाव चिन्ह रुख भएकाले उसैलाई फाइदा हुने गरी आयोगले निर्णय गरेको सङ्केत गर्ने गरेका छन्। आयोगले भने गणकलाई मत गन्न सहज हुने रङ्ग चयनमा हरियो रङ्ग चयन गरिएको दाबी गरेको थियो।
एमालेले आगामी निर्वाचनमा उम्मेदवार हुन चाहने जनप्रतिनिधिले पहिला राजीनामा दिनुपर्ने गरी आचार संहिता बनाएकोमा समेत ओलीले असन्तुष्टि जनाउँदै आएका छन्। एमालेका धेरै जनप्रतिनिधि आफ्नो पार्टीको भएकाले नियतवश आयोगले यस्तो निर्णय गरेको उनले आक्षेप लगाउँदै आएका छन्।
ओलीले आयोगको निष्पक्षतामाथि आरोप लगाएपछि आयोगले सबै निर्वाचन बुथमा क्लोम सर्किट टेलिभिजन जडान गर्ने निर्णय भएको सार्वजनिक गरेको थियो। पदाधिकारी रहँदै उम्मेदवार बन्दा पदीय दुरुपयोग हुनसक्ने र गणकलाई गन्न सहज हुन्छ भनेर रङ्ग बदलेको प्रस्टीकरण दिने गरेको छ।
चैत १३, २०७८ आइतबार १९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।